विराटनगर । उदयपुरको रौतामाई गाउँपालिका ७ मुर्कुची राजावासमा आयोजित दसैँ तिहार फुटबल प्रतियोगिताको उपाधि राजावास फुटबल क्लबले चुमेको छ। 
साता दिनअघि सुरु भएर शनिवार सम्पन्न फाइनल खेलमा राजावासले ४–२ को गोल अन्तरले रौता स्पोर्टस् क्लब मुर्कुचीलाई पराजित गरेको हो । 
स्थानीय राजाबास युवा सञ्जालको आयोजनामा दसैँ तिहार लक्षित प्रतियोगितामा राजाबासले टाईब्रेकरमा रौतालाई पराजित गरेको हो। निर्धारित ९० मिनटको खेलमा दुवै पक्षबाट गोलरहित टुङ्गिएपछि नतिजा निकाल्न टाईब्रेकरको सहारा लिनु परेको थियो।
टाईब्रेकरमा ५ खेलाडीमध्ये ४ जनाले प्रहार गरेको बलले जाली चुमेसँगै राजावास विजेता बन्न पुगेको हो। रमता स्पोर्टस क्लबको तर्फबाट भने २ गोल मात्र भयो।
खेलको उत्कृष्ट गोलरक्षकको उपाधि रौताका निमा शेर्पा घोषित हुँदै नगद र ट्रफि पुरस्कार पाए। प्रतियोगिता समापन कार्यक्रममा कोशी प्रदेशका उपसभामुख सृजना दनुवारले विजयी राजावासलाई नगद २० हजारसहित ट्रफि र प्रमाणपत्र  र उप विजेतालाई दश हजार र सिल्ड तथा प्रमाणपत्र वितरण गरिन् । 
आयोजक सञ्जालका अध्यक्ष कृष्ण राईका अनुसार प्रतियोगितामा रौतामाईका विभिन्न वडा तथा छिमेकी उदयपुगढी गाउँपालिका र त्रियुगा नगरपालिकाका गरी १२ खेल समूहको सहभागिता थियो।
खेलाडीलाई पुरस्कार वितरण गर्दै उपसभामुख दनुवारले खेलकुदले युवाहरूलाई अनुशासित, गतिशील तथा राष्ट्र र समाजप्रति प्रतिबद्ध हुन सिकाउने भएकाले खेलकुद क्षेत्र देश र समाजका लागि गौरवको विषय भएको बताइन्। ग्रामीण भेगका खेलाडीको प्रतिभा मौलाउन दिनका लागि राज्यले खेलकुद क्षेत्रको बृहत्तर विकास गर्ने योजना प्रदेश सरकारले अघि बढाएको पनि उनले सुनाइन।