विराटनगर । मेडिकल व्यवसायी दुर्गा प्रसाईँका समर्थकले ट्रकमा आगजनी गर्दा घाइते भएका भारतीय ट्रक चालकको उपचारका क्रममा मृत्यु भएको छ । आगलागीबाट घाइते ट्रक चालक भारत छाप्रा उत्तर दिनाजपुर बस्ने ४० वर्षीय पदा रायको उपचारका क्रममा मृत्यु भएको हो । उनको उपचारको क्रममा प्रसाईँले नै सञ्चालन गरेको बीएण्डसी अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो । त्यहाँ उपचार हुन नसकेपछि थप उपचारका लागि नर्थ बङ्गाल मेडिकल कलेजमा भनाए गरिएको थियो । उनको उपचारका क्रममा गए राति मृत्यु भएको हो । रायको मृत्यु भएपछि उनका आफन्तहरूले एसियन हाइवेको काँकडभिट्टा नाकामा पानीटंकीतर्फ शव राखेर प्रदर्शन गर्दै हिजो नाका अवरोध गरेका थिए ।
प्रहरीले दुर्गा प्रसाईँलाई पक्राउ गरेपछि उनका समर्थकहरूले गत असोज ७ गते बिहान २ः५० बजे बिर्तामोड–६ गिरीबन्धु टी–इस्टेट नजिक ट्रमा आगो लगाएका थिए । पूर्वपश्चिम राजमार्गमा सुनसरीको दुहबीबाट जुट पुर्याएर पूर्वतर्फ आउँदै गरेको डब्लुबी ७३ ई ३०५६ नम्बरको भारतीय ट्रकमा प्रसाईँका समर्थकहरूले आगजनी गरेका थिए । प्रसाईँका समर्थकहरू आगजनी गरी फरार भएका थिए ।
भारतीय प्रहरीले नेपाल प्रहरीसङ सहजीकरण गरी हिजो मृतकको शव नेपाल पठाएको छ । शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल भद्रपुर लगिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पोस्टमार्टम गरेर आफन्तले सब बुझेको झापाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले बताए ।
आगजनी गर्ने दुर्गा प्रसाईँका ८ जना समर्थकलाई प्रहरीले पक्राउ गरेको झापा प्रहरीले जनाएको छ ।उनीहरूमाथि आपराधिक उपद्रो तथा ज्यान मार्ने उद्योगको मुद्दा दर्ता भएको छ ।झापाका प्रमुख जिल्ला अधिकारी बास्तोलाले पक्राउ परेकाहरूलाई ज्यान मुद्दा चलाइने बताए । उनले आगजनी गर्नेबाट क्षतिपूर्ति भराउने तयारी भइरहेको जानकारी दिए ।