सुनसरी । राजवंशी युवा समाजको केन्द्रीय अध्यक्षमा अर्जुन राजवंशी सर्वसम्मत चयन भएका छन् । 

राजवंशी समाज विकास समितिले आफ्नो युवा समुह गठन गरेको हो । समाजको केन्द्रीय समितिले मंगलबार झापाको घैलाडुब्बामा आयोजना गरेको बृहत भेला मार्फत नयाँ राजवंशी युवा समाज गठन गरेको हो । झापाका पत्रकार अर्जुन राजवंशीको अध्यक्षतामा २५ सदस्य नयाँ केन्द्रीय समिति गठन गरेको हो । 

समाजको उपाध्यक्ष पुरुषतर्फ विक्रम राजवंशी, उपाध्यक्ष महिलातर्फ पिङ्की राजवंशी, महासचिवमा प्रशान्तकुमार राजवंशी, सचिवमा कपिलदेव राजवंशी र मेनुका राजवंशी तथा कोषाध्यक्षमा अनिल राजवंशीलाई सर्वसम्मत चयन गरेको राजवंशी समाज विकास समितिका केन्द्रीय अध्यक्ष अभय राजवंशीले जानकारी दिएका छन् ।

निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई निर्वाचित भएको प्रमाण पत्र वितरण गरिएको छ ।

Arjun Rajbanshi 1

कार्यक्रममा राजवंशी साहित्य नामक पुस्तक समेत विमोचन गरिएको छ । राजवंशी समाज विकास समिति अन्तर्गतको राजवंशी साहित्य प्रकाशन समितिले प्रकाशन गरेको पुस्तक राज्यमन्त्री भूमिप्रसाद राजवंशीले विमोचन गरेका थिए । 

कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेशका भौतिक पूर्वाधार विकास राज्यमन्त्री भूमिप्रसाद राजवंशी, प्रदेशसभा सदस्य निमसरी राजवंशी, कचनकवल गाउँपालिकाका अध्यक्ष कालेन्द्रप्रसाद सिंह राजवंशी लगायतले नवगठित कार्य समितिका पदाधिकारी तथा सदस्यहरुलाई शुभकामना व्यक्त गरेका थिए । 

कार्यक्रममा झापा, मोरङ, सुनसरी र काठमाडौंमा बसोबास गर्ने राजवंशीहरुको सहभागिता रहेको थियो ।