इटहरी। बेलायत भ्रमणमा जान लागेका धरानका मेयर हर्क साम्पाङले वडा अध्यक्षलाई कार्यवाहक मेयरको जिम्मेवारी दिएका छन् । चर्चा र विवादमा आइरहने मेयर साम्पाङले उप प्रमुख हुँदा हुँदै वडा नम्बर ११ का वडा अध्यक्ष लोकेन्द्र फागोलाई कार्यवाहकको जिम्मेवारी दिएका हुन् । उनले बुधवार असोज २८ गतेबाट लागू हुने गरी फागोलाई कार्यवाहकको जिम्मेवारी दिएका हुन् । 

बिहीबारबाट सार्वजनिक बिदा हुने भएको बधबार नै साम्पाङले फागोलाई कार्यवाहकको जिम्मेवारी दिएका हुन् । मेयर साम्पाङ असोज २८ गते सोमवार देखी धरान बाहिर जाने कार्यक्रम तय भएको छ । यस अघि पनि विभिन्न पालिकाहरूले उप प्रमुख हुँदा हुँदै वडा अध्यक्षलाई कार्यवाहक दिएको विषयमा विवाद हुँदै आएको थियो । कार्यवाहकको जिम्मेवारी पाएका अध्यक्ष फागोले आफूलाई कार्यालयमा बोलाएर पत्र दिएको बताए । उनले भने, अहिले सम्म मैले पत्र खोलेको छैन  ।

कानुन त नगर प्रमुख वा गाउँपालिका अध्यक्ष ७ दिन वा बढी समय उपमहानगरपालिका, नगरपालिका वा गाउँपालिकामा उपस्थित नहुने भएमा उपप्रमुख वा उपाध्यक्षलाई कार्यभार सुम्पने व्यवस्था छ ।

तर मेयर साम्पाङले वडा अध्यक्षलाई कार्यवाहकको जिम्मेवारी दिएका हुन्  । उपमेयर पनि कार्यालयमा अनुपस्थित हुने भएमा मात्र कुनै पनि सदस्यलाई कार्यभार सुम्पने व्यवस्था भए पनि मेयर साम्पाङले उपप्रमुख हुँदाहुँदै वडा अध्यक्षलाई कार्यभार दिने पत्र तयार गरेका हुन् ।

उप मेयर आइन्द्र बिक्रम बेघाले आफू बाहिर जाने कुनै कार्यक्रम नभएको बताए । उनले भने उहाँले ऐन कानुन पढ्नु भएन होला त्यही भएर वडाध्यक्षलाई कार्यवाहकको पत्र दिनु भयो । उनले कार्यवाहक दिने विषयमा आफूसँग कुनै सल्लाह नभएको उप प्रमुख बेघाले बताए । 

स्थानीय तह सञ्चालन ऐन २०७४ को दफा १६ को ( क) १२ मा नगर प्रमुख वा गाउँ प्रमुख सात दिन भन्दा बढि समय गाँएपालिका वा नगरपालिकामा अनुपस्थित हुने भएमा उपाध्यक्ष वा उप प्रमुखलाई कार्यवाहक दिनु पर्ने व्यवस्था छ । यदि उपाध्यक्ष वा उप प्रमुख पनि अनुपस्थित भएमा कुनै सदस्यलाई कार्यभार दिने उल्लेख छ । मेयर साम्पंगले भने ऐन विपरीत उप प्रमुख हुँदा हुँदै वडा अध्यक्षलाई कार्यवाहकको जिम्मेवारी दिएका हुन् ।