विराटनगर । धरानका मेयर हर्क साम्पाङले गैर कानुनी रूपमा वडा अध्यक्षलाई कार्यवाहक दिएपछि उप मेयर आइन्द्र बिक्रम बेघा अदालत जाने भएका छन् । उनले मेयरको गैर कानुनी कामका विरुद्धमा अदालत जाने बताए । 

उनले  भने, ‘ कार्यवाहक अरूलाई दिएको विषयमा भन्दा पनि कानुन विपरीत मेयर साम्पाङले गरेको कामलाई लगाम लगाउन अदालत जाने तयारी गरेको हो । अदालत खुलेपछि रिट सहित अदालत जान्छु । 

उनले भने ‘स्थानीय सरकार सञ्चालन ऐन दफा १६ ,उपदफा ४ ९क० को  ९१२० बमोजिम धरान उपमहानगरपालिकाको कार्यवाहक प्रमुख म हुँ ।’

उपप्रमुख बेघाले नगर प्रमुख साम्पाङले कुन दफा र उपदफा बमोजिम कार्यवाहक दिए, त्यो आफूलाई थाहा नभएको बताउँदै कानुनतः कार्यवाहक प्रमुख आफू भएको बताए ।

उनले भने ‘मेयर साब उपमहानगरपालिका नआइन्जेल विधि र कानुन अनुसार सम्पूर्ण कार्यभार म आफै सम्हाल्ने छु ।’

उनका अनुसार नेपालको संविधान २०७४ को भाग १७ को स्थानीय कार्यपालिका गठन सम्बन्धी धारा २१४ देखि २३० सम्म व्यवस्था भए बमोजिम स्थानीय सरकार गठन भएकोले कानुनतः गाउँपालिका र नगरपालिकामा अनुपस्थित भएमा उपाध्यक्ष वा उपप्रमुखलाई कार्यभार दिने, अध्यक्ष वा प्रमुखको अनुपस्थितिमा  उपप्रमुखले कार्यभार सम्हाले प्रस्ट लेखिएको छ ।

उपप्रमुख बेघाले भने ‘नैतिकता र कानुनी प्रश्नले सिङ्गो संस्थालाई विवादित बनाएको छ ।’ यसले सिङ्गो उपमहानगरपालिका र नगरवासीलाई समेत हित नगरेको उनको भनाई छ । 

विधिको शासन कायम गर्न २० वटै वडाका वडाध्यक्ष र कार्यपालिका सदस्य सहित प्रशासकीय अधिकृत र सबै महाशाखा प्रमुखहरूलाई अनुरोध पत्र पठाइएको उनले जानकारी दिए ।

धरान उपमहानगरपालिका प्रमुख हर्क साम्पाङले कार्यवाहक नगर प्रमुखको जिम्मेवारी वडा ११ का अध्यक्ष लोकेन्द्र फागोलाई दिएर विदेश गएका छन् । 

उनी २ दिन अघि सुम्निमा पारुहाङ्गको प्रतिमा निर्माणको सहयोगार्थ धरान समाज युके र प्रतिमा निर्माण अभियानको निमन्त्रणमा युके बेलायत उडेका हुन् । उनी तिहार मनाएर मात्रै नेपाल फर्कने छन् । 

उनीसँगै उनकी श्रीमती र छोरालाई समेत बेलायत लगेका छन् । उनी बेलायत हिँडेपछि कार्यवाहकको जिम्मेवारी वडाध्यक्ष  फागोलाई दिएका हुन् । फागो मेयर समाम्पाङ्गका मामा ससुरा समेत हुन् । 

मामा ससुरालाई कार्यवाहक दिएर मेयर बेलायत उडेपछि धरानका निवर्तमान मेयर तिलक राईले विरोध जनाएका छन् । उनले आज बिहान पत्रकार सम्मेलन गरी धरानमा विधिको शासन हराएर गएकोमा चिन्ता व्यक्त गरेका छन् ।