धरान । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ सपरिवार बेलायत प्रस्थान गरेका छन् । जहाज चढ्नुअघि उनले फेसबुकमा विभिन्न पोस्टहरूको वर्षा गरे । आज बिहान ५ बजेदेखि नै उनी फेसबुकमा सक्रिय बनेका छन् । उनले पहिलो पोस्ट बिहान ५ः२३ मा गरेका थिए ।
कीर्तिपुरवासीहरुसँग भलाकुसारी गरेका तस्बिरहरू हाल्दै उनले लेखका छन्, ‘सुन्दर कीर्तिपुर ! मिलनसार कीर्तिपुरवासी ! संस्कृतिले भरिएको शहर ! घुम्न जाने सबैको रहर ! छ’
५:४२ मा उनले उमामहेश्वर मन्दिर दर्शनको भिडिओ पोस्ट गरे ।
५ः४८ मा साम्पाङको स्टाटस आयो ।
उनले लेखेका छन्, ‘नेपालीको अघिल्तिर दुइटा बाटा छन् ! एउटा माटो छुने संस्कृति अर्थात् श्रम संस्कृतितर्फ जान्छ ! अर्को रोजीरोटीको खोजीमा विदेशतिर लाग्छ ! कुन बाटो रोज्ने आफै बिचार गर्नुहोला ! ढुङ्गे मेयर ढुङ्गे मेयर भनेर खिसी गरिनबस्नु !’
यो स्टाटस लेखिसकेर करिब एक घन्टा उनी शान्त बसे । सायद बिहानको नित्यकर्म भ्याए होलान् । त्यसपछि ६ः४५ मा आफ्नो एउटा फोटो पोस्ट गरे
त्यसको क्याप्सन यस्तो थियो: अरूलाई पाप चिताउनेको दाहिने भगवान् कहिल्यै हुँदैनन् ! यति बुझ्नु ‘सबैको हित चिताउने मानिसलाई भगवानले सदैब साथ दिइरहन्छन् !’ जय मानव !
यो हालेको एक घण्टापछि साम्पाङको नयाँ स्टाटस खस्यो । त्यसमा उनले आफू रातभरि निदाउन नसकेको उल्लेख गरेका छन् ।
स्टाटस यस्तो छः जनताको आँखामा देखिएको त्यो आशाको किरणलाई समेटेर सुनौलो प्रभात ल्याउने कसम खाएको एउटा सानो मान्छे रातभर सुत्न सकेन ! मनमा अनेकन् कुराहरू मडारिएर सुत्न दिएन ! लागियो एयरपोर्ट तर्फ !’
एयरपोर्ट पुगेर बोडिङ पास लिएपछि जहाज पर्खिँदै गर्दा साम्पाङले ८ः५९ मा एउटा फोटो पोस्ट गर्न भ्याए । त्यसमा उनले सबैसँग बिदा मागेका छन् । ९ः१४ मा उनले लगेज चेकका लागि लाइन लागेको भिडिओ सेयर गरे ।
फेरि ९ः२४ मा साम्पाङले अर्को फोटो र स्टाटस हाले । हाते माइक बोकेर ढुंगामा बसेको पुरानो फोटो हाल्दै उनले लेखेका छन्, ‘म जहाँ गए पनि एउटा आवाज बनेर जानेछु ! म जहाँ भए पनि एउटा आवाज बनेर बाँच्नेछु ! सुतेकालाई जगाउनु र सही मार्गमा लगाउनु मेरो स्वभाव छ !’
१०ः४५ मा साम्पाङको नयाँ पोस्ट आयो । उनले विमानस्थलमा श्रीमती र छोरासहित प्रतीक्षारत रहेको फोटो हाले । त्यसमा उनले लेखेका छन्, ‘उद्देश्य सहितको एउटा अनौठो यात्रा काठमाडौं टु दोहा टु लण्डन ! Waiting lobby at TIA 11:30 am, some minutes to go beforing boarding !’
त्यसको २० मिनेटपछि विमानस्थलभित्र छिर्दै गरेको भिडिओ पोस्ट गरेका छन् ।
त्यसपछि पनि उनी रोकिएनन् । जहाँजभित्र पस्नुअघि दुईवटा पोस्ट हाले । एउटा भिडिओमा पोस्टमा जहाज अगाडि उभिएर सानो ‘बाइट’ दिँदै उनले केही दिन विदेशिँदा जन्मभूमिलाई मिस गर्ने बताए । त्यसपछि श्रीमती र छोरासहित जहाज अगाडि उभिएको फोटो हालेका छन् ।