इटहरी । धरान उप महानगरको कार्यवाहक मेयर तोकिएका वडाध्यक्ष लोकेन्द्र कुमार फागोले मेयरको कार्यकक्ष अगाडि टेबल कुर्सी राखेर कार्यवाहकको  जिम्मेवारी वहन गर्न थालेका छन् । 

धरानका मेयर हर्क साम्पाङले गैर कानुनी रूपमा कार्यवाहक तोकेका फागोले मेयरको सचिवालयमा टेबल कुर्सी राखेर कार्यवाहकको कामकाज थालेका हुन् । 

नाताले मामा ससुरा पर्ने फागोलाई मेयर साम्पाङले  हिजोबाट कार्यबाहकको जिम्मेवारी पाएका हुन् । उनले हिजैबाट कार्यवाहकको काम काज थालेको बताएका छन् । हिजो भने मेयर साम्पाङ्गको कार्यकक्षमा ताला लगाइएको थियो । 

आज भने कार्यकक्षको ताला भने खुलेको छ । कार्यकक्षको ताला खुले पनि उनी सचिवालयमा बसेर कामकाज गरिरहेका छन् । 

धरान उप महानगर वडा नम्बर ११ को अध्यक्षमा विजयी भएका फागोले आफुनै भित्र नबसी बाहिर बसेर काम गरेको बताए । 

उनले केही सिफारिसहरूमा तोक लगाएको बताए । उनले भने, ‘सेवाग्राहीहरू कम आएका छन् आएकाहरूको अधिकारले पाए सम्मको काम गरिरहेको छु । ’

उनले आफू कार्यालयमा भन्दा बढी फिल्डमा खटिएको बताए । उनले भने, ‘मैले मागेर लिएको होइन । मेयरले दिनु भयो मैले मेयरले दिएको जिम्मेवारी निर्वाह गरिरहेको छु । 

उनले प्रमुख प्रशासकीयसँगको सल्लाहमा आफूले सिफारिसहरूमा तोक लगाउने काम गरिरहेको बताए । उनले नेपाल प्रेससँग भने,‘कानुन हेरेर नै मेयर साबले मलाई जिम्मेवारी दिनु भएको होला । कानुन अनुसार छ छैन उहाँले जान्ने हो । मैले होइन । ’

मेयर साम्पाङले आफूलाई कार्यवाहकको जिम्मेवारी दिएर हिँडेपछि विवाद सुरु भएको बताए। मलाई पनि काम गर्न समस्या होला भन्ने लागेको थियो । फागोले भने, ‘मेयर साप  धरानमा भइन्जेल कसैले छलफल गर्नु भएन अहिले नभएपछि विवाद झिकिएको छ । उहाँ हुँदा हुँदै छलफल गरेको भए समस्या समाधान हुन्थ्यो । ’

उनले आफूलाई कार्यवाहकको जिम्मेवारी दिएको विषयको जिम्मा मेयर सापले नै लिने बताए । उनले भने,‘ मैले मागेर पाएको होइन । उहाँले विश्वास गरेर दिनु भयो । उहाँले पनि कानुन हेरेर दिनु भएको होला । यस बारेमा मेरो केही भन्नु छैन । ’

उनले भने, तपाइलाई पनि सबै कुरा थाहा नै छ । मलाई किन कानुनको कुरा भन्न लाउनु हुन्छ रु मैले अराएको काम मात्रै गरेको हो । अहिले म हानेको ढुङ्गा भएको छु । ’ 

वडाध्यक्ष फागो नेपाली काङ्ग्रेसको तर्फबाट निर्वाचित भएका हुन् । उनी कार्यवाहक तोकिएको विषयमा नेपाली काङ्ग्रेस धरानले अहिले सम्म कुनै औपचारिक प्रतिक्रिया दिएको छैन ।

 हिजो प्रेस विज्ञप्ति जारी गर्दै धरानमा क्रियाशील काँग्रेस बाहेकका ६ दलले मेयरको कार्य कानुन विपरीत नीच कार्य भएको टिप्पणी गरेका छन् । 

कार्यकक्षमा उप मेयर हूँदाँ हुँदै वडाध्यक्षलाई कार्यवाहकको पत्र थमाएपछि धरानका उप मेयर आइन्द्र विक्रम बेघाले कानुनी उपचार खोज्ने तयारी गरेका छन् । उनले कानुनको रक्षका लागि अदालतमा रिट निवेदन हाल्ने बताएका छन् ।