विराटनगर । माओवादीले मोरङको ग्रामथान गाँउपालिकाकको अध्यक्षको उम्मेदवार घोषणा गरेको छ । मङ्सिर १६ गते हुने उप निर्वाचनमा मनोनारायणा माझीलाई अध्यक्षको उमेद्वारको रूपमा अगाडि सारेको हो । सो पालिकाका अध्यक्षको मृत्यु भएपछि उप निर्वाचन हुँदै छ । 
ग्रामथान गाउँपालिकाको कार्यालय रहेको तेतरीया  बजारमा सोमबार आयोजित कार्यक्रममा माझीलाई उम्मेदवार घोषणा गरिएको हो । माझी केही समय अगाडि नेपाली काङ्ग्रेस छोडेर माओवादी केन्द्रमा प्रवेश गरेका थिए । उनी यसअघि ग्रामथान गाउँपालिकाको १ नम्बर वडाबाट ०७४ सालमा फोरम लोकतान्त्रिकबाट वडाध्यक्षमा निर्वाचित भएका थिए । यस्तै गत २०७९ सालको निर्वाचनमा स्वतन्त्र रूपमा सोही वडाको अध्यक्षमा उम्मेदवार बनेका उनी तेस्रो बनेका थिए । 
 उक्त निर्वाचनका लागि काङ्ग्रेस, एमालेले भने उम्मेदवारबारे निर्णय गरिसकेको छैन । ०७९ सालको पालिका निर्वाचनमा काङ्ग्रेसका जयप्रकाश गच्छदार विजयी भएका थिए । उनको हृदयाघातका कारण मृत्यु भएपछि ग्रामथानमा उपनिर्वाचन हुन लागेको हो ।
माझीको उम्मेदवारी घोषणा कार्यक्रममा माओवादी केन्द्रका नेताहरू सावित्री कुमार काफ्ले, पूर्व मन्त्री अमनलाल मोदी, विजय विश्वासलगायतको उपस्थिति थियो ।