विराटनगर ।  धरानका मेयर हर्क साम्पाङले दिएको वडाध्यक्षलाई कार्यवाहक मेयरको जिम्मेवारी दिएको पत्र कार्यान्वयन नगर्न उच्च अदालतले आदेश दिए पनि वडाध्यक्ष लोकेन्द्रकुमार फागोले कार्यवाहक मेयरकै रूपमा कामकाज गर्दै आएका छन् । उच्च अदालत विराटनगरका न्याधिस ध्रुवराज नन्दको इजलासले धरानका मेयर हर्क साम्पाङले दिएको कार्यवाहक मेयरको जिम्मेवारी कार्यान्वयनमा नगर्न आदेश दिएको थियो  ।

कार्यकक्षमा उप मेयर हुँदा हुँदै वडाध्यक्ष फागोलाई कार्यवाहकको जिम्मेवारी दिएर मेयर हर्क साम्पाङ बेलायत गएपछि उप मेयर आइन्द्र विक्रम बेघा हिजो रिट लिएर अदालत पुगेका थिए । उनी अदालत गएसँगै उच्च अदालत विराटनगरले मेयर साम्पांगको पत्र कार्यान्वयन नगर्न आदेश दिएको थियो ।

अदालतको आदेश आए पनि वडाध्यक्ष फागोले आज पनि कार्यवाहकको रूपमा काम काज गरेका छन् । उनले मेयरको कार्यकक्षमा छुट्टै टेबल कुर्सी राखेर कार्यवाहकको जिम्मेवारी निभाइरहेका छन् । उनले अदालतबाट आएको पत्र समेत नबुझेको श्रोते जनाएको छ । उनले आज पनि कार्यवाहकको रूपमा दुई वटा फाइमा तोक लगाएका छन् । 

मेयर साम्पाङले उप मेयर  कार्यकक्षमा रहँदा रहँदै नाताले मामा ससुरा पर्ने वडा अध्यक्ष फागोलाई कार्यवाहक मेयरको जिम्मेवारी दिएर बेलायत गएका थिए । उनले वडाध्यक्षलाई कावा तोकेसँगै कार्त्तिक ४ गते उप मेयर आइन्द्र विक्रम बेघा अदालत गएका  थिए ।

वडाध्यक्षलाई कावा तोकेसँगै कार्तिक ४ गते उपमेयर बेघाले अदालतमा रिट दर्ता गरेका थिए । अ प्रकरणमा उच्चले विपक्षीलाई कारण देखाऊ आदेशसमेत जारी गरेको छ । मुद्दाको अर्को सुनुवाई  कात्तिक ६ गते हुनेछ ।

वडाध्यक्ष फागोले भने अदालतबाट पत्र नआएकाले अहिले सम्म आफूले कार्यवाहकको जिम्मेवारी निभाइ रहेको बताए । उनले भने, अहिले सम्म मैले पत्र पाएको छैन , पत्र आएपछि म जिम्मेवारी पनि छाड्छु ।