विराटनगर । कोशी प्रदेश सरकारले बाढीपहिरोबाट भत्किएका संरचनाको पुनर्निर्माण गर्न ४० करोड बजेट छुट्याएको छ । प्रदेशमा मनसुनजन्य विपदबाट भएको क्षतिको पुर्ननिर्माण गर्न विपद् कोष खडा गरी कोसी सरकारले आर्थिक मामिला तथा योजना मन्त्रालयको विविध शीर्षकको बजेट कोषमा राख्ने प्रदेश मन्त्री परिषद्ले निर्णय गरेको हो ।
विपद्बाट भत्किएका पुल, सडक तथा अन्य संरचना मर्मत तथा पुनर्निर्माण कोषका लागि छुट्टै बजेट नभएकोले चालु बजेटबाट १० प्रतिशत कटौती गरी व्यवस्थापन गर्ने र त्यो कोषमा मन्त्री मण्डलमा रहेका सदस्यहरूको १० दिनको तलब जम्मा गर्ने निर्णय भएको सरकारका प्रवक्ता आन्तरिक मामिला तथा कानुनमन्त्री लीला वल्लभ अधिकारीले जानकारी दिए ।
उनले भने, प्रदेशसभा सदस्यहरूलाई समेत सहयोग गर्न सम्बन्धित संसदीय दलमार्फत आह्वान गर्ने, नागरिक समाज, संघ संस्थाहरू र नागरिकलाई समेत आग्रह गर्ने सरकारले तयारी गरेको छ । तत्कालै काम अघि बढाएर तीन महिनामा गर्ने र दीर्घकालीन रूपमा गर्नेको पुनर्निर्माणको काम वर्गीकरण गरिने बताए ।