सुनसरी । नेपाली बालिकालाई चिनियाँ नागरिकसँग विवाह गराउन संलग्न ८ जनालाई सुनसरी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा तीन जना चिनियाँ नागरिक अन्य नेपाली हुन ।

धनकुटा छथर जोरपाटी २ की १६ वर्षकी बालिकालाई सुनसरीको चतरामा ल्याएर ३३ वर्षीय लि टेङ नामका चिनियाँ नागरिकसँग विबाह गराउँदै गर्दा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

प्रहरीले किशोरीका बाबु, ३३ वर्षीय चिनियाँ नागरिक लि टेङ, उदयपुरको बेलका नगरपालिका ९ का ४३ वर्षीय दीपक दर्जी,  सोही स्थानका ४२ वर्षीय बद्रीबिक्रम राई, स्याङ्जा पुतलीबजार नगरपालिका( १२ का २० वर्षीय शितल गुरुङ, काभ्रेपलान्चोकको रोशी गाउँपालिका(३ की २० वर्षीया रोशनीमाया तामाङसँगै चिनियाँ नागरिक ३५ वर्षीय डोङ शिहाओ र वु हेजीलाई पक्राउ गरेको हो ।

सुनसरीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुमन तिम्सिनाका अनुसार किशोरीलाई प्रलोभनमा पारी जबर्जस्ती विवाह गर्दै गर्दा  प्रहरीले उद्दार  गरेको हो ।

उनका अनुसार विपन्न परिवारका किशोरीका बुबाले भने छोरीका लागि राम्रै होस् भनेर विवाह गरेको बताएका छन् ।

चिनियाँ पक्षले विवाह गर्नुको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । घटनालाई मानव तस्करीसँग पनि सम्बन्धित देखिएकाले त्यस तर्फबाट पनि अनुसन्धान सुरु गरिएको सुनसरी प्रहरीले जनाएको छ ।