सुनसरी । कोशी प्रदेश सरकारले पशुपालक किसानलाई दिँइदै आएको नगद अनुदान कटौती गरी व्याजमा मात्रै अनुदान दिने भएको छ ।
प्रदेश सरकारले उद्योग कृषी तथा सहकारी मन्त्रालय मार्फत दुग्ध किसानलाई नगद अनुदान दिँदै आएको थियो । तर सो कार्यक्रम यस बर्ष कटौती गरिएको हो ।
प्रदेश सरकारले दिँदै आएको नगद अनुदान केही व्यक्ति विशेषले मात्रै पाएको, दुरुपयोग भएको र वास्तविक किसानले नपाएको भन्दै गुनासो आएपछि बन्द गरिएको उद्योग कृषी तथा सहकारी मन्त्रालयकी डा. दिपा दिवालीले जानकारी दिइन् ।
इटहरीको दुग्ध उत्पादक सहकारी संस्थाको बार्षिक साधारण सभामा बोल्दै डा. दिवालीले अनुदानको विषयमा नकारात्मक कुरा धेरै आएपछि सबै अनुदानका कार्यक्रम नै कटौती गरिएको बताइन् ।
प्रदेश सरकारले चालु बर्ष देखी अनुदानको मोडालिटी नै परिवर्तन गरी व्याज अनुदान मात्रै दिने भएको छ ।
डा.दिवालीका अनुसार स्थानिय सरकार, बैंक वित्तिय संस्था, सहकारीसँगको सहकार्यमा व्याजमा अनुदान दिइनेछ ।
अनुदान वितरणको विषयमा मन्त्रालयले नयाँ कार्यविधि तयार गरेको बताउँदै डा. दिवालीले सो कार्यविधि पास भएपछि काम सुरु हुने जानकारी दिइन् ।
इटहरीको दुग्ध उत्पादक सहकारी संस्थाले ४७ औँ बार्षिक साधारण सभा सम्पन्न गरेको छ । दुग्ध उत्पादक सहकारी संस्थाले राम्रो काम गरेको भन्दै कोशी प्रदेश सरकारले स्थानिय सरकार मार्फत दुध भण्डारण गर्ने उपकरणमा ससर्त अनुदान दिएको छ ।
१५ लाख बराबरको दुध भण्डारण गर्ने उपकरण खरिदका लागि ससर्त अनुदान दिएको हो ।