विराटनगर । विराटनगरको मान गढ खानेपानी उपभोक्ता समितिको चुनावका विषयलाई लिएर जिम्मेवारी खोसिएका नेकपा एमालेका तत्कालीन विराटनगर महानगरका अध्यक्ष सागर थापालाई पार्टीले जिम्मेवारी दिएको छ ।

उनलाई एमाले कोशी प्रदेश कमिटी अन्तर्गतको सहरी विकास विभागको सचिव पदमा नियुक्त गर्दै पार्टीले उनलाई जिम्मेवारी दिएको हो ।  खानेपानी संस्थाको चुनावमा पार्टीको निर्णय विपरीत काम गरेको आरोपमा थापालाई दुई महिनाका लागि निलम्बन गरिएको थियो  । उनको निलम्बन फुकुवा गरिए पनि उनलाई जिम्मेवारी भने दिइएको थिएन ।  उनलाई  पार्टीले जिम्मेवारी दिएसँगै उनी पार्टी काममा फर्किएका छन् । 

पार्टीले उठाएको आधिकारिक उम्मेदवार विरुद्ध बागी उमेद्वार खडा गरेको आरोपमा विराटनगर महानगर कमिटीका उपसचिव नवराज नेपाललाई चार महिना र वडा नं ३ का वडा कमिटी अध्यक्ष लालमणि भट्टराईलाई छ महिनाको लागि निलम्बन गरिएको थियो। लालमणी खानेपानी उपभोक्ता समितिको निर्वाचनमा पार्टीको निर्णय विपरीत अध्यक्षको उमेद्वार बनेका थिए  । 

नव गठित पार्टीले गठन गरेका सहरी विकास विभागको प्रमुखमा सुनसरीका लोकेश निरौला, उपप्रमुखमा सुशीला पहाडी र सचिवमा थापा रहेका छन्।