विराटनगर । कोशी प्रदेश सभा सदस्य भीम पराजुलीले २७ औ पटक दण्ड प्रणाम गर्दै सिँघियाघाटमा छैैठको पूजा गर्दै छन् । विराटनगर महानगरपालिका वडा नम्बर ३ स्थित शिव पाञ्चायन मन्दिरबाट उनी दण्ड प्रणाम (घस्रिएर) उनी छठ पूजाको लागि सिँगिया गएका हुन् । उनीसँगै उनका भतिज पनि साथमा छन् । वैदिक सनातन हिन्दू राष्ट्र कायम गर्नु पर्ने, समस्त लोकको कल्याण, विश्व शान्ति, राष्ट्र हित र धर्म रक्षाका लागि आफूले कठोर निराहार व्रत सहित दण्ड प्रणाम गर्दै सूर्यको उपासना गरेको पराजुलीले बताए । ‘भगवानसँग आफ्नो लागि मागिरहनु पर्दैन, उनले भने, भगवान् प्रतिको आस्थाले आफैँ प्राप्त हुन्छ, तर अहिले मैले विश्व शान्ति कोलागि यो कठोर व्रत बसेको हुँ ।’
उनले आज साँझ विराटनगर १ मा रहेको परोपकार घाटबाट अस्ताउँदो सूर्यलाई अर्घ दिने बताएका छन् । विराटनगर महानगरपालिकाको मेयर हुँदा विराटनगरका नागरिकको लागि व्रत बसेको बताउने पराजुलीले त्यसपछि प्रदेशको नागरिकका लागि व्रत बसेको बताउँदै आएका थिए । यो वर्ष भने उनले ४ वटा मुख्य आफ्नो इच्छा सहित व्रत बसेको सुनाए । अहिले विश्व नै द्धन्दमा फँस्दैै गएकोले विश्व शान्ति र सनातन हिन्दु राष्ट्र सहितका आफ्ना मुख्य चार कुराहरू रहेको पराजुलीको भनाई छ ।
छठ पर्वको आज मुख्य दिन अस्ताउँदो सूर्यलाई अर्घ्य दिन भक्तालुहरू खोला, पोखरी, तलाउ तथा नहरको किनारमा छठ घाट बनाई त्यहीँबाट पुजा आराधना गर्छन् । दिउँसो छठ घाटमा व्रतालुहरू पुग्ने र साँझ अस्ताउँदो सूर्यलाई अर्घ दिन्छन् ।