विराटनगर । मोरङ ग्रामथान गाउँपालिकामा मङ्सिर १६ गते हुने उप निर्वाचनमा काँग्रेस र माओवादीले उम्मेदवार छनौट गरेका छन् । दुई साता अघि नै नमोनारायण माझीलाई अध्यक्षमा उठाउने निर्णय माओवादीले गरेको थियो । काँग्रेसले भने बलराम सरदारलाई अध्यक्षमा उठाउने निर्णय गरेको छ । नमोनारायण चौधरी काङ्ग्रेसबाट माओवादीमा आएर अध्यक्ष लड्ने तयारी गरेका हुन् ।
काँग्रेसले उम्मेदवार बनाएका सरदार भने काँग्रेसका पुराना नेता हुन् । नेपाली काङ्ग्रेसबाट निर्वाचित गच्छदारको असार ३ गते निधन भएपछि उप निर्वाचन हुन लागेको हो । उपनिर्वाचनमा गाउँपालिका अध्यक्षको लागि काङ्ग्रेसबाट १७ जना आकाङ्क्षी रहेको भए पनि सरदारलाई उम्मेदवार बनाइएको मोरङ काँग्रेसका सभापति डिगबहादुर लिम्बुले बताए । एमालेले भने अझै उम्मेदवार टुङ्गो लगाउन सकेको छैन ।
एमालेबाट ग्रामथानको अध्यक्ष बन्नेको लर्को लागेपछि ११ जना आकाङ्क्षीको नाम माथिल्लो कमिटीमा सिफारिस गरेको छ । एमाले ग्रामथान गाउँ कमिटीले अध्यक्षका लागि ११ जना आकाङ्क्षी देखिएपछि उनीहरूको नाम जिल्ला कमिटीमा सिफारिस गरेको हो । जिल्लाले पनि ११ जनाकै नाम सुझाव सहित प्रदेश कमिटीमा पठाएको छ ।
पालिका र जिल्ला पठाएको नामका आधारमा कार्त्तिक २४ गते उम्मेदवारको नाम टुङ्गो लगाउने एमाले मोरङका इन्चार्ज जीवन घिमिरेले बताए । उनले प्रदेशले फाइनल गरेर पठाएको नामका आधारमा कार्त्तिक २६ गते उम्मेदवारको नाम सार्वजनिक गरिने बताए ।
ग्रामथान गाँँउपालिकाको अध्यक्षको उम्मेद्वारकालागि पूर्व अध्यक्ष शिवनारायण माझी, तुलसीराम विश्वास, कृष्णकुमार माझी, एकराज घिमिरेको नाम एमाले ग्रामथान गाउँ कमिटीले सिफारिस गरेको छ । यस्तै आस नारायण माझी, तुलसी विश्वास, नमनारायण चौधरी, युवराज खनाल, निर्मला अधिकारी, नवीनकुमार मण्डल र ध्रुवकुमार श्रेष्ठको नाम पनि सिफारिस भएको छ ।
ग्रामथानको अध्यक्षको उम्मेदवारको रूपमा मा ११ जनाको नाम सिफारिस भए पनि शिवनारायण माझी, तुलसीराम विश्वास र कृष्णकुमार माझी मध्ये एक जनाले टिकट पाउने देखिएको छ । शिवनारायण यस अघि २०७४ को निर्वाचनमा पालिकाको अध्यक्षमा निर्वाचित भएका थिए । उनी ७९को निर्वाचनमा भने जयप्रकाश गच्छदार थारुसँग पराजित भएका हुन् ।
अध्यक्षको उम्मेदवारको दाबी गरिरहेका कृष्णकुमार माझी भने तत्कालीन झोरा हाट गाउँ विकास समितिका अध्यक्ष हुन् । उनी २०५४ सालमा एमालेका तर्फबाट झोरा हाट गाविसमा अध्यक्षमा विजयी भएका थिए । २०७४ मा भने उनी ग्रामथान वडा नम्बर २ मा वडाध्यक्षमा विजयी भएका थिए । अध्यक्षको उम्मद्वारका आँकाक्षी तुलसीराम भने एमाले ग्रामथान गाउँ कमिटीका उपाध्यक्ष हुन् । उनी ७९को निर्वाचन अघि नेपाली काङ्ग्रेसबाट एमाले प्रवेश गरेका हुन्।
२०७९ मा सम्पन्न स्थानीय तह निर्वाचन एमालेका माझी नेपाली काँग्रेसका जयप्रकाश गच्छदारसँग १ हजार ५१२ मतान्तरले पराजित भएका थिए । २०७४ को स्थानीय तह निर्वाचनमा गच्छदार माझीसँग ५९ मतान्तरले पराजित भएका थिए । थारुले ७ हजार ६०५ मत पाएका थिए भने माझीले ६ हजार ९३ मत पाएका थिए ।
२०७९ सालको निर्वाचनमा नेपाली काङ्ग्रेसबाट अध्यक्षमा निर्वाचित भएका जयप्रकाश गच्छदारको हृदयाघातका कारण मृत्यु भएपछि ग्रामथानमा उपनिर्वाचन हुन लागेको हो ।