विराटनगर । जापान भ्रमणका विषयमा विवाद भएपछि मन्त्रीबाट राजीनामा दिएका कोशीका निवर्तमान मन्त्री लिलाबल्लभ अधिकारीलाई एमालेले सङ्गठित सदस्यबाट समेत निलम्बित भएका छन् ।
आज बसेको नेकपा एमाले कोशी प्रदेशको बैठकले अधिकारीलाई आरोपको अन्तिम निरूपण नभए सम्मको लागि पार्टीको कुनै पनि तहमा रहन नपाउने गरी निलम्बन गरेको हो । एमाले कोशी प्रदेशका अध्यक्ष घनश्याम खतिवडाले अधिकारीलाई राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् सदस्य तथा नेकपा एमाले को सङ्गठित सदस्यताबाट समेत निलम्बन गरिएको बताए ।
उनी नेकपा (एमाले) को तर्फबाट मोरङ जिल्लाको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं २ को प्रदेश सभा निर्वाचन क्षेत्र ९ख० बाट निर्वाचित प्रदेशसभाका सदस्य हुन् । उनी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्रीको हैसियतमा केही दिन अगाडी वैदेशिक भ्रमण का लागि जापान गएका थिए ।
उनले जापान जानु अघि आवश्यक मापदण्ड तथा प्रक्रियाहरू समेतको बेवास्ता गरी पदीय मर्यादा विपरीत जापानको भ्रमण गरेपछि पार्टी र संसदीय दलको तर्फबाट मन्त्री पदबाट राजीनामा दिएका छन् । उनीमाथि मानव तस्करीको गम्भीर आरोप लागेको छ ।
खतिवडाले उनको जापान भ्रमण प्रकरणले नेकपा (एमाले) माथि समेत गम्भीर आरोप लगाउँदै अन्य गम्भीर प्रकृतिका अनियमितताका घटनाहरूलाई ढाकछोप वा हल्का बनाउने प्रयास भइरहेको कुराले पार्टीको गंभिर ध्यानाकर्षण भएको बताएका छन् ।