सुनसरी । किरात धर्मका प्रवर्तक तथा राष्ट्रिय विभूति फाल्गुनन्द लिङ्देनको १ सय ४०औं जन्म जयन्ती आज विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ ।
फाल्गुनन्द जयन्तीको अवसरमा कोशी प्रदेश सरकारले आज सार्वजनिक विदा पनि दिएको छ । फाल्गुनन्दको समाधिस्थल पाँचथरको फाल्गुनन्द–७ सिलौटीमा छ । जहाँ आज विशेष कार्यक्रम गरी जयन्ती मनाउने गरिन्छ ।
यस्तै कोशी प्रदेशका पाँचथर, इलाम, ताप्लेजुङसहित जिल्लाहरुमा फाल्गुनन्दको जन्म जयन्तीमा विभिन्न कार्यक्रम गरी मनाउने गरिन्छ ।
विक्रम संवत् १९४२ कात्तिक २५ गते इलामको चुक्चिनाम्वामा जन्मिएका फाल्गुनन्दलाई किरात लिम्बू समुदायले समाज सुधारकका रूपमा मान्ने गरेका छ्न् ।
उनले १९८८ साल वैशाख २४ गते पाँचथरको सिलौटीमा पूर्वी नेपालअन्तर्गत १० लिम्बूवान १७ थुमका अग्रजहरूलाई भेला पारेर सत्य धर्म मुचुल्का घोषणा गर्दै समाज सुधारको अभियान थालेका थिए ।
उनको निधन २००५ साल चैत २२ गते भएको थियो । उनलाई नेपाल सरकारले २०६६ साल मंसिर १६ गते राष्ट्रिय विभूति घोषणा गरेको हो ।