विराटनगर । पूर्व मन्त्री लीला वल्लभ अधिकारीले अनुसन्धानमा सघाउने भन्दै अपराध अनुसन्धान महाशाखा  काठमाडौँमा हाजिर हुने भएका छन् । काठमाडौँ जानु अघि विराटनगरमा पत्रकारसँग कुरा गर्दै अधिकारीले  आफूले  जापान भ्रमणको विषयमा विभिन्न टीकाटिप्पणी भएपछि मन्त्री पदबाट राजीनामा दिई सकेकोले अनुसन्धानमा सहयोग गर्नको लागि आफू काठमाडौँ जान लागेको बताए । ‘विषय बाहिर आउने बित्तिकै अनुसन्धानमा सघाउ कोलागि नै कोशी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको मन्त्री पदबाट राजीनामा दिएँ, उनले भने, विभिन्न सञ्चार माध्यमाले पार्टी माथि प्रश्न गर्न थालेपछि पार्टीको पनि कुनै पनि जिम्मेवारीमा अनुसन्धान नसकिँदासम्म नरहने गरी राजीनामा दिई सकेको छु, अब मैले अनुसन्धानमा सघाउन लागेको हुँ ।’
यो अपराधीको गिरोहलाई पक्राउ गर्नुपर्छ र कारबाही गर्नुपर्छ भनेर जानकारी दिने काम नै आफूले गरेको बताएका   अधिकारीले आफू ठगिएको महसुस भएपछि प्रहरीलाई नै अपराधको बारेमा जानकारी गराउने काम भएकोले आफू सँग भएको प्रमाण सहित प्रहरीलाई अनुसन्धानमा सघाउ कोलागि दिउँसो  १ बजेर ५० मिनेटको उडानबाट आफैँ काठमाडौँ गएर बुझाउने बताए ।  अनुसन्धानको दायरा बाहिर आफू नभएकोले अनुसन्धान भन्दा बाहिर नरहेको उल्लेख गरे । आफू दोषी रहेको भए कारबाही भोग्न तयार रहेको बताएका उनले  अनुसन्धानमा पूर्ण सहयोग गर्ने बताए ।