विराटनगर । नेकपा एमाले कोशी प्रदेश संसदीय दलले कोशी प्रदेश सभा सदस्य तथा पूर्व मन्त्री लीला वल्लभ अधिकारीलाई २४ घण्टे स्पष्टीकरण माग गरेको छ। संसदीय दललाई कुनै पनि औपचारिक र अनौपचारिक जानकारी नै नगराई राज्यको कानुनी प्रक्रिया समेत अवलम्बन नगरी विदेश यात्रा गरेको भन्दै स्पष्टीकरण माग गरेको हो । आइतबार नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक रेवती रमण भण्डारीद्वारा हस्ताक्षरित स्पष्टीकरणमा विधानको दफा २३(१)को खण्ड (ख) विपरीत कार्य गरेको भनिएको छ । अधिकारीलाई सो विषयमा २४ घण्टा भित्र नेकपा एमाले संसदीय दलको कार्यालयमा स्पष्टीकरण पेस गर्न भनिएको छ। समय भित्र स्पष्टीकरण नदिएमा वा दिइएको स्पष्टीकरण चित बुझ्दो नभएमा विधान बमोजिम कारबाही गर्ने समेत जनाइएको छ।