विराटनगर । श्री एयरलाइन्सको उडान रद्द भएपछि विराटनगर विमानस्थलमा अहिले लफडा भइरहेको छ । विराटनगर–काठमाडौँको साँझ ७ बजेको उडान रद्द भएको हो । उडान रद्द भएपछि यात्रु आक्रोशित बनेका छन् । प्रहरीका अनुसार विराटनगर विमानस्थल हुँदै काठमाडौँ जान ८० जना यात्रुले टिकट काटेका थिए । यात्रुहरूलाई उडान रद्द भएको जानकारी करिब ८ः३० बजे मात्रै दिइएको थियो ।
काठमाडौँ जान साँझ ६ बजेदेखि नै यात्रुहरू विमानस्थल पुग्न थालेका थिए । अचानक उडान रद्द भएको जानकारी पाएपछि आफूहरू अलपत्र परेको भन्दै यात्रु आक्रोशित भएको प्रहरीले जनाएको छ ।
अहिले राति १० बजेपछि काठमाडौँमा विमानस्थल बन्द हुन्छ । जहाज आएर काठमाडौँ फर्कन नभ्याउने भएपछि उडान रद्द गर्नुपर्ने अवस्था आएको जानकारी एयरलाइन्सले यात्रुहरूलाई दिएको छ । साँझको उडान रद्द भएको र भोलिपल्ट बिहान १० बजे काठमाडौँ लैजाने जानकारी यात्रुहरूलाई दिइएको थियो । त्यसपछि आक्रोशित बनेका यात्रुहरूले होहल्ला गरिरहेका छन् ।
उनीहरूले रातको समयमा एयरलाइन्सले अलपत्र पारेको भन्दै आक्रोश पोखिरहेका हुन् । आक्रोशित भिडले विमानस्थलभित्र एयरलाइन्सको काउन्टर अगाडि होहल्ला गरिरहेको प्रहरीले जनाएको छ । मोरङ प्रहरी प्रमुख एसपी नारायणप्रसाद चिमरियाले उडान रद्द भएको विषयलाई लिएर यात्रुहरूले विवाद गरिरहेको बताए । आक्रोशित बनेका यात्रुहरूलाई सम्झाई बुझाइ गर्ने काम भइरहेको उनको भनाइ छ । कुनै अप्रिय घटना हुन नदिन प्रहरी परिचालन गरेर सुरक्षा व्यवस्था मिलाइएको चिमरियाले बताए ।