विराटनगर । नेकपा एमालेको इलाम को ११औँ अधिवेशन आजबाट सुरु हुँदैछ । भोली सम्म चल्ने अधिवेशनले नयाँ नेतृत्व चयन गर्ने छ ।  अधिवेशनको पार्टी केन्द्रीय उपाध्यक्ष गुरु बरालले  उद्घाटन गर्ने छन् ।

अधिवेशनमा पाँच सय ८७ प्रतिनिधि सहभागी हुने बताए । अरू जिल्लामा छ महिनाअघि नै एमालेको नयाँ नेतृत्व चुनिए पनि इलाम क्षेत्र २ मा गत वैशाख १५ गते उपनिर्वाचन भएका कारण यहाँको जिल्ला अधिवेशन स्थगित थियो ।

अधिवेशनले १ अध्यक्ष, १ उपाध्यक्ष, १ सचिव र २ उपसचिवसहित १ सय २५ सदस्यीय नयाँ कार्य समिति चयन गर्नेछ । नयाँ नेतृत्वका लागि नेताहरूले उम्मेदवारी घोषणा गरिरहेका छन् । अध्यक्षमा ११औँ अधिवेशन आयोजक कमिटी अध्यक्ष गणेशप्रसाद बराल, नरेन्द्रनाथ भट्टराई र डा देवी क्षेत्री दुलालले प्रतिस्पर्धी देखिएका छन् । उनीहरू अध्यक्षको आकाङ्क्षा राख्दै नेताहरूसँग लविङ्ग गरिरहेका छन् । 

दुलाले अध्यक्षका लागि आकाङ्क्षा राखे पनि निर्वाचन भए बराल र भट्टराईबिच निर्वाचन हुने देखिएको छ । अहिले सम्म अध्यक्षमा सहमति हुने सम्भावना न्यून रहेको छ । उपाध्यक्षमा वर्तमान उपाध्यक्ष उदयबहादुर राई, वर्तमान सचिव उमेश गुरुङ, सचिवालय सदस्य द्वय बुद्धिप्रसाद खनाल र रमेश राईले उम्मेदवारी दिने बताएका छन् । 

सचिवमा वर्तमान उपसचिव रवीन्द्र सुवेदी र सचिवालय सदस्य प्रकाश अधिकारीले उम्मेदवारी दिने भएका छन् । उपसचिवमा भने नौ जनाभन्दा बढीको लर्को छ ।