सुनसरी- इटहरीमा प्रदेशस्तरीय खुल्ला तेक्वान्दो प्रतियोगिता हुने भएको छ । चन्द्रमा तेक्वान्दो डोजाङको आयोजनामा मंसिर २१ र २२ गते हुने प्रतियोगितामा कोसी प्रदेशका १४ जिल्लाका ५ सय बढी खेलाडीहरूले सहभागिता जनाउने शनिवार पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको हो ।
इटहरी रङ्गशाला परिषरको कवर्डहलमा हुने प्रतियोगिता जुनियर र सिनियर विधामा विभिन्न उमेर समूहमा प्रतिस्पर्धा हुने आयोजकका अध्यक्ष कुमार गुरुङले जानकारी दिए । कोसी प्रदेशमा रहेका विभिन्न ५० भन्दा बढी डोजाङका खेलाडीले प्रतिस्पर्धा गर्ने प्रतियोगिताले दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीलाई पनि सहयोग पुग्ने बताइएको छ ।
करिब तीन लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई नगद ५ हजार सहित मेडल प्रदान गरिने आयोजकले जनाएको छ । 
8929fd1f-9dbd-47b9-beaf-5ee161096bd3
       प्रदेशका विभिन्न जिल्लाका धेरै खेलाडीहरू बिच प्रतिस्पर्धा हुँदा क्षमतावान् खेलाडी निस्कने भएकाले विगतका वर्षहरूमा नगर स्तरीय प्रतियोगिता आयोजना गर्दै आएको डोजाङले यस वर्षदेखि प्रदेशस्तरीय प्रतियोगिता गर्न लागेको अध्यक्ष गुरुङले जानकारी दिए । तेक्वान्दोका विभिन्न राष्ट्रिय तथा अन्ताराष्ट्रिय खेलाडी उत्पादन गरिसकेको इटहरीमा प्रदेशस्तरीय प्रतियोगिता आयोजना गर्दा स्थानीय सरकारको सहयोग नपाएको गुरुङले बताए ।
इटहरीकै अन्तर्राष्ट्रिय तेक्वान्दो खेलाडी सुशीला राई गत साता काजकिस्तानमा भएको विश्वभरिका खेलाडीहरू सम्मिलित परीक्षामा उत्तीर्ण भई पुम्से विधामा नेपालकै पहिलो निर्णायक बन्न सफल भएकी थिइन ।
यस्तै बिद्या राईले पनि गेरोगी अर्थात् फाइटीङ विधामा अन्ताराष्ट्रिय रेफ्रीको मान्यता पाएको कोसी प्रदेश तेक्वान्दो संघका उपाध्यक्ष शिबराज दाहालले पत्रकार सम्मेलनमा जानकारी गराए ।