विराटनगर । मोरङको ग्रामथान गाउँपालिकामा यही मङ्सिर १६ गते हुने अध्यक्ष पदका लागि विभिन्न राजनीतिक दलले मनोनयन दर्ता गराएका छन् । अहिले सम्म जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी लगायतका दलहरूले अध्यक्षका लागि मनोनयन दर्ता गराएका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट दिनेश कुमार थानदारले अध्यक्षका लागि मनोनयन दर्ता गराएका छन् । 
केन्द्रीय नेताहरू प्रह्लाद साह, दिनेश साहलगायतका नेता कार्यकर्तासहित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उनले उम्मेदवारी दर्ता गराएका हुन् । ग्रामथानमा राप्रपाका थन्दार मनोनयन दर्ता गराउने पहिलो उम्मेदवार बनेका छन् । 
रास्वपाले भने नवीन कुमार चौधरीलाई उम्मेदवार बनाएका छन् ।

चौधरीले आसन्न उप निर्वाचनमा अध्यक्षका लागि मनोनयन दर्ता गराएका छन् । अहिले सम्म नेकपा एमाले र नेपाली काङ्ग्रेसले अध्यक्षका लागि मनोनयन दर्ता गराइसकेका छन् । एमालेका तर्फबाट तुलसीराम विश्वासले अध्यक्षका लागि मनोनयन दर्ता गराए । बाजा गाजा र जुलुस सहित पुगेका विश्वासले उम्मेदवारी दर्ता ग्रामथानको विकासका लागि जनताले मत दिने विश्वास व्यक्त गरे । मनोनयन दर्ता गराउन एमालेका उपाध्यक्ष गुरु बराल, एमालेका स्थायी कमिटी सदस्य तथा  कोशीका इन्चार्ज शेरधन राई, प्रदेश अध्यक्ष घनश्याम खतिवडा समेत मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए । 

यसै गरी नेपाली काँग्रेसका तर्फबाट भने बलराम सरदारले ग्रामथानको अध्यक्षमा मनोनयन दर्ता गराएका छन् । उनी मुख्य निर्वाचन अधिकृतको कार्यालय तेतरीया पुग्दा उनी सँगै नेपाली काँग्रेसका नेता कार्यकर्ताहरू पनि पुगेका थिए । 

मोरङको ग्रामथानमा अध्यक्ष पदका लागि आगामी मङ्सिर १६ गते उपनिर्वाचन हुँदै छ । अध्यक्ष पदको मनोनयन दर्ताका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयले राजनीतिक दलहरूलाई अलगअलग समय दिएको छ ।