विराटनगर । आगामी मंसिर १६ गते हुने उप निर्वाचनका लागि नेकपा (एमाले) मोरङको सम्पूर्ण शक्ति ग्रामथान गाउँपालिकामा केन्द्रीत भएको छ । ग्रामथान गाउँपालिकाको अध्यक्ष पदका लागि हुने उप निर्वाचनको परिणाम एमालेको पक्षमा पार्न पार्टी मोरङको सम्पूर्ण शक्ति सोही ठाउँमा केन्द्रीत भएको हो ।
शुक्रबार ग्रामथान गाउँपालिकाको झोराहाटमा जिल्ला संगठन कमिटीका अध्यक्ष बाबुराम कार्कीको अध्यक्षता र केन्द्रीय सदस्य तथा मोरङ इन्चार्ज जिवन घिमिरेको प्रमुख आतिथ्यतामा बसेको दोस्रो पूर्ण बैठकले हाललाई पार्टीका अन्य  आन्तरिक गतिविधिहरु थाती राख्दै सम्पूर्ण जिल्ला कमिटीको शक्तिलाई ग्रामथानमा हुने निर्वाचनमा केन्द्रीत गर्ने निर्णय गरेको हाे ।
बैठकलाई सम्बोधन गर्दै केन्द्रीय सदस्य तथा मोरङ इन्चार्ज घिमिरेले अन्य विपक्षी उम्मेदवारको तुलनामा एमालेका उम्मेदवार तुलसीराम विश्वास स्वच्छ छबी भएको र जनताले विश्वास गरेकोपात्र भएकाले उनलेनै निर्वाचन जित्ने बताए ।
मुलुकको विकास र समृद्धि एमालेबाट मात्र सम्भव भएकाले चुनावी महौल पार्टीकै पक्षमा रहेपनि अनेकौँ चलखेल हुनसक्ने बताउँदै निर्वाचन परिणाम नआउन्जेल पार्टीको सम्पूर्ण शक्ति ग्रामथानमा केन्द्रीत हुँदै चनाखो रहनुपर्ने बताए  । ‘भए मध्येका उम्मेदवारहरुमा हरेक हिसाबले हाम्रो उम्मेदवार अब्बल सावित भइरहनु भएको छ,’ उनले भने,  अरु पार्टीका उम्मेदवारका हकमा अनेक प्रश्न उठेको छ, अत्यन्त विवादास्पद उम्मेवार छन् । हाम्रो उम्मेदवारका विषयमा प्रश्न उठाउने छाउँ छैन ।’
नेता घिमिरेले यसपटकको निर्वाचन परिणामले राष्ट्रिय राजनीतिमा प्रभाव पर्ने भएकाले एमालेले कुनै हालतमा यो निर्वाचन जित्नुपर्ने र यसका लागि सम्पूर्ण पार्टी पंक्ति एक ढिक्का भएर लागि पर्न निर्देशन दिए ।
त्यस्तै, प्रदेश कमिटी अध्यक्ष घनश्याम खतिवडाले झुट र भ्रमको खेती गरेर चौतर्फी रुपमा एमालेलाई बद्नाम गर्ने प्रयास गरेपनि नेपाली जनताले सफल हुन नदिने बताए  ।
अहिले चौतर्फी निशाना एमाले बनाइरहेको सन्दर्भमा त्यसलाई इलाम र बझाङको निर्वाचनले चिरेको बताउँदै ग्रामथानको परिणाम पनि पार्टीको पक्षमा पारेर कडा जवाफ दिनुपर्ने र यस कार्यमा सवै तहबाट जुट्न निर्देशन दिए ।
जिल्ला कमिटी अध्यक्ष बाबुराम कार्कीले मोरङको सम्पूर्ण पार्टी पक्ति, जनसंगठनहरु, मातहतका सवै कमिटी, नेता कार्यकर्ता, निर्वाचनमा केन्द्रीत भएर आ–आफ्नो ठाउँबाट पार्टीलाई जिताउन लागि पर्नुपर्ने बताए  ।
उनले  कार्ययोजनासहित पार्टीका उम्मेदवार विश्वासलाई जिताउने गरि जिल्लाभरीका सम्पूर्ण नेता कार्यकर्तालाई जिम्मेवारी अनुसार खटिन आग्रह गरे । अध्यक्ष कार्कीले निर्वाचनको माहोल एमालेको पक्षमा रहेको र यसलाई अन्तिमसम्म कायम राख्न सवै सजग भएर लाग्नुपर्ने बताए  ।
जिल्ला कमिटी बैठक केन्द्रीय सदस्य युवराज बास्कोटा, रामलाल साह, केन्द्रीय सल्लाहकारहरु, प्रदेश कमिटीका नेताहरुलगायतको आतिथ्यतामा सम्पन्न भएको प्रचार विभाग प्रमुख सन्तोष बान्तवाले जानकारी दिए ।