सुनसरी । मेडिकल व्यवसायी दुर्गा प्रसाईँ सवार गाडीको ठक्करबाट घाइतेको उपचारको क्रममा मृत्यु भएको छ ।
सुनसरी प्रहरीका अनुसार प्रसाईँ सवार बागमती प्रदेश ०१-०२८ च ०२०१ नम्बरको गाडीले गत कात्तिक २५ गते कोसी गाउँपालिका ३ स्थित नहर चोकमा २ वटा मोटरसाइकललाई ठक्कर दिएको थियो ।
कोसी ब्यारेज तर्फ गइरहेको प्रसाईँ सवार गाडीको ठक्करबाट दुई जना घाइते भएका थिए । घाइतेमध्ये स्थानीय ६० वर्षीय फुलेश्वर मेहताको शुक्रवार उपचारका क्रममा मृत्यु भएको हो ।
दुर्घटना लगत्तै दाहिने खुट्टा र हातमा चोट लागेका मेहेतालाई उपचारको लागि भोक्राहा नरसिंहमा रहेको सप्तकोसी न्युरो अस्पतालमा भर्ना गरिएको थियो । सप्तकोसी न्युरोमा केही दिन उपचार गरे पनि मेहेताको अवस्थामा सुधार नभएपछि थप उपचारको लागि नोबेल अस्पताल विराटनगर पठाइएको थियो ।
उक्त अस्पतालमा मेहेताको शुक्रवार मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक पक्षले भने सप्तकोसी न्युरो अस्पतालको लापरबाहीबाट मेहेताको ज्यान गएको आरोप लगाएका छन् ।
चिकित्सकको लापरबाहीले बिरामीको ज्यान गएको दाबी गर्दै घटना छानबिन माग समेत गर्दै आन्दोलनको तयारी गरेका छन् ।