विराटनगर । कोशी प्रदेशका पूर्व आन्तरिक मामिला तथा कानुन मन्त्री लिलाबल्लभ अधिकारी प्रहरी हिरासतबाट रिहा भएका छन् । विवादास्पद जापान भ्रमणका कारण पक्राउ परेका अधिकारी १६ दिनको हिरासत पछि रिहा भएका हुन् । उनलाई पत्नी पृथ्वी बस्नेतको जिम्मा लगाइएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।
सरकारी वकिल कार्यालय काठमाडौँले उनी विरुद्ध मुद्दा नचलाउने निर्णय भएको पत्र प्रहरी परिसरमा पठाएपछि सोमबार साँझै रिहा भएका हुन् । सरकारी वकिल कार्यालयका प्रवक्ता एवं जिल्ला न्यायाधिवक्ता सिताराम अर्यालले अधिकारी विरुद्ध मुद्दा नचलाउने निर्णय भएको बताए । मन्त्री अधिकारी प्रक्रिया नपु¥याई जापान उडेपछि जापान काण्डमा मुछिएका थिए । उनले आफूले जापान जान पासपोर्ट बुझाएकाहरूले गिरोहको जालमा फसाएको भन्दै प्रहरीलाई जानकारी गराएका थिए ।
जापान भ्रमणमा असम्बन्धित व्यक्तिहरूलाई आफूसँगै जापान पुर्याउन सघाएर मानव तस्करी गरेको तथा जापान पुगेका व्यक्तिहरूले किर्ते कागजात तयार पारेको कसुरमा प्रहरीले अनुसन्धान गरेको थियो । अधिकारीलाई कात्तिक २५ गते विराटनगरस्थित डेराबाट प्रहरीले नियन्त्रणमा लिएको थियो ।पूर्व मन्त्री अधिकारीले जापान छिर्न लागेका व्यक्तिहरूबारे नेपाल प्रहरी र जापानको अध्यागमनलाई पहिलो जानकारी गराएको खुलेपछि उनी विरुद्ध मुद्दा नचल्ने सरकारी वकिलको कार्यालय काठमाडौँले निर्णय गरेको हो ।
अधिकारी जापानमा हुने इन्टरनेसनल कन्फरेन्स अन ओपन एक्सेस टु कल्चर २०२४ को सात दिने कार्यक्रममा सहभागी हुन भन्दै मन्त्री पदमा बहाल रहेकै बेलामा व्यक्तिगत हैसियतमा जापान उडेका थिए ।
अधिकारीसहित चार जना कात्तिक ११ गते गएका थिए ।
अधिकारी हङकङ पुगेपछि मिसिएका जनक राई, दावा शेर्पा र कञ्चन देवकोटालाई अधिकारीले नै दिएको जानकारीका आधारमा जापानको अध्यागमनले डिपोर्ट गरेको खुलेको छ ।
जापानको कानुनको हेर्ने निकायले राई, शेर्पा र देवकोटा विरूद्ध ‘एक्सक्लुसन अर्डर’ पठाएको जनाइएको छ ।