विराटनगर । ग्रामथान गाउँपालिकाको अध्यक्ष पदको उप निर्वाचनको लागि दलहरूले अभियानलाई तीव्र बनाएका छन् । आगामी मङ्सिर १६ गते हुने उप निर्वाचनको लागि नेकपा एमालेले ग्रामथानमा हुने उप चुनाव लक्षित कार्यक्रमलाई तीव्र बनाएको छ । निर्वाचन अभियान अन्तरगत घरदैलो अभियान सँगै टोल भेलाहरूलाई तीव्र बनाएको नेकपा एमाले ग्रामथान चुनाव प्रचार समितिका संयोजक प्रयाग न्यौपानेले जानकारी दिए। उनका अनुसार अभियानको दौरान अहिलेसम्म सबै वडाहरूमा उम्मेदवार सहितको घरदैलो र थप टोली परिचालन गरेर घर घरमा चुनाव प्रचार अभियान भइरहेको छ। 
uml gramthan (6)
नेकपा एमालेले सोमबार साँझ मात्र चार घण्टामा ७ ठाउँमा टोल भेला गरेको छ।  यो अभियान मौन अवधिसम्म कायम रहने नेकपा एमालेका केन्द्रीय सदस्य तथा मोरङ जिल्ला इन्चार्ज जीवन घिमिरेले बताए । ‘घरदैलो अभियान, टोल भेला र ठुला आमसभाका कार्यक्रमहरू सँगै लगिएको छ, उनले भने, अभियानलाई तीव्र बनाई परिणाम आफ्नो पक्षमा पार्नको लागि सबै संयन्त्रहरू प्रभावकारी परिचालन भएका छन् ।’ 
uml gramthan (4)
सोमबार साँझ मात्र वडा नम्बर १ को मिलन चोक नजिकै टोल भेला भएको थियो ।  वडा नम्बर ३ को सिद्राहा, वडा नम्बर ४ को मोतीपुर, वडा नम्बर ५ को भौसाबारी, वडा नम्बर ६को खद्राहा  र वडा नम्बर ७ को मन्दिर टोलमा टोल भेला भए ।  लखन्तरी र मोतीपुरका २–२ ठाउँमा टोल भेला भएको नेकपा एमाले ग्रामथान गाउँपालिका अध्यक्ष सत्यनारायण माझीले जानकारी दिए । 
uml gramthan (7)
नेकपा एमालेले मङ्गलवार वडा नम्बर ५ मा घरदैलो गरिरहेको छ।  भोलीसम्ममा सबै वडाहरूमा घरदैलोको काम भइसक्ने नेकपा एमाले ग्रामथान गाउँ कमिटिले जनाएको छ। एउटा वडालाई २ दिन लगाएर घरदैलो गर्ने गरिएको छ।  बुधवार  वडा नम्बर ६ मा घरदैलो गरेर घरदैलो सकिने र टोल भेला र गाउँ भेलाहरू हुने अध्यक्ष माझीले जानकारी दिए ।  नेकपा एमालेका उम्मेदवार तुलसीराम विश्वासले निर्वाचनमा आफ्नो  पक्षमा माहौल निर्माण भइरहेकोले जित्ने विषयमा विश्वस्त रहेको बताए । ‘मेरो प्रतिस्पर्धा काँग्रेससँग हो, उनले भने, अरूलाई त मतदाताले चिन्दैनन्,  यस्तै अवस्थामा मलाई विजेता घोषणा गरिदिँदा हुन्छ ।’ उनले आफ्ना एजेन्डालाई मतदाताले मन पराएको कारण  जनमत आफ्नो पक्षमा रहेको बताएका छन् । 
uml gramthan (1)
ग्रामथान गाउँपालिकामा नेकपा एमालेका तुलसीराम विश्वास सहित नेपाली काँग्रेसका बलराम सरदार र नेकपा माओवादीका नमोनारायण माझीका बिच प्रतिस्पर्धा हुने आँकलन गरिएको छ। अहिले दलहरू आफ्ना उम्मेदवार लिएर चुनावी मैदानमा होमिएका छन् ।