विराटनगर । मोरङको बुढीगंगा गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता सुरु भएको छ । बुढीगंगा गाउँपालिकाको आयोजनामा पालिका स्तरीय प्रतियोगिता सुरु भएको हो । प्रतियोगिताको सङ्घीय सरकारका खेलकुद मन्त्री तेजुलाल चौधरीले उद्घाटन गरे ।  यो वर्षको राष्ट्रपति रनिङसिल्ड प्रतियोगिता गराउने जिम्मेवारी नरग्राम माध्यमिक विद्यालयले पाएको छ ।  आजदेखि सुरु भएको प्रतियोगिता आगामी मङ्सिर १५ गतेसम्म हुने नरग्राम माध्यमिक विद्यालयका प्रधानाध्यापक कैलाश केसीले जानकारी दिए । 
मङ्गलवार बिहान जनप्रिय माध्यमिक विद्यालयबाट मार्च पास सहित विद्यालयहरू नरग्राम माध्यमिक विद्यालयमा पुगेपछि कार्यक्रम औपचारिक उद्घाटन भएको थियो । प्रतिभा पहिचान अन्तरगतको कक्षा ६–८ हाम्रो संस्कृति हाम्रो पहिचान विषयमा वक्तृत्वकला र कक्षा ९–१२ लोक तथा आधुनिक गायन प्रतियोगिता आजै आयोजना हुनेछ ।  हाम्रो सुन्दर विद्यालय कक्षा १–३ चित्रकला प्रतियोगिता,  प्रतिभा पहिचान अन्तरगतकै कक्षा ४–५ लोक नृत्य प्रतियोगिता बुधवार हुने आयोजक बुढीगंगा गाउँपालिकाका शिक्षा अधिकृत लक्ष्मी न्यौपानेले जानकारी दिइन् ।
 3aeb4b95-e7ea-47ac-9eb9-791787ab3337
खेलकुद प्रतियोगिताहरूमा भलिबल, कबड्डी, दौड ट्र्याक तर्फ,  उफ्रने र फ्याँक्ने फिल्ड तर्फ र कराँते  छात्र र छात्रा प्रतियोगिता हुँदै छ । यी खेलहरू जनप्रिय माध्यमिक विद्यालय बाँसबारीमा हुने छ ।  प्रतिभा पहिचानका कार्यक्रमहरू नरग्राम माध्यमिक विद्यालयमा र खेलकुदका सबै प्रतियोगिताहरू जनप्रिय माध्यमिक विद्यालयमा हुने तथा पुरस्कार वितरण नरग्राम माविमा गर्ने कार्यक्रम तालिका रहेको गाउँपालिकाका अध्यक्ष जीतनारायण थापाले जानकारी दिए । कार्यक्रमलाई सम्बोधन गर्दै थापाले बुढीगंगा गाउँपालिकालाई खेललकुदको लागि सबै ठाउँमा पुगेर प्रतिस्पर्धा गर्ने खेलाडी उत्पादन गरिने बताए । पालिका आफैँले खेलकुदका कार्यक्रम गर्न कालागि बजेटहरू विनियोजन गरिएको दाबी गर्दै हरेक वर्ष हुने यस्ता प्रतियोगिताले  बालबालिकालाई पढाइको अतिरिक्त खेलकुद प्रतिको आकर्षण बढाउने जानकारी दिए । अहिले पनि कराँतेमा आर्थिक अवस्था कमजोर भएका बालबालिकालाई लक्षित गरी प्रशिक्षणहरू भइरहेको बताए । कुलतमा फस्दै गएका बालबालिका विद्यालयसम्म ल्याउन र  खेलकुद प्रति आकर्षित गर्नको लागि अहिले २०० आर्थिक अवस्था कमजोर भएका विपन्न र दलित बालबालिकालाई कराँते प्रशिक्षणमा  लागेको बताए । उनीहरू विद्यालय नियमित आउन थालेको समेत कार्यक्रममा जानकारी दिए ।