विराटनगर । उपनिर्वाचनको माहौलले गर्माएको मोरङको ग्रामथान गाउँपालिकामा दलहरू चुनाव प्रचारको अन्तिम चरणमा छन् । सबैजसो उम्मेदवार अन्तिम चरणको प्रचारमा व्यस्त रहँदा विभिन्न दलका नेताहरू पनि आफ्ना उम्मेदवारलाई सघाउने दौडधुपमा छन्  । यही क्रममा बुधवार दिउँसो ग्रामथान–२ पिडारबनी चोकैको चिया पसलमा माओवादी नेता एवम् सङ्घीय सांसद अमनलाल मोदी स्थानीयसँग गफिँदै गरेको अवस्थामा भेटिए । उनको साथमा माओवादी कोशीका अध्यक्ष हर्क नेम्वाङ पनि थिए । उनी बसेर गफिइरहेको चिया पसलमै आइपुगे एमाले नेता द्वारिकालाल चौधरी । 

इटहरी उपमहानगरका पूर्व मेयर चौधरीलाई देख्नासाथ सांसद मोदीले भने ‘ओहो, मेयर सा’ब, स्वागत छ मेरो क्षेत्रमा ।’ चौधरी र मोदीले आपसमा हात मिलाए । मोदीले चिया खाने अफर गरे । चौधरीले पनि उनको प्रस्ताव स्वीकार गरे । चिया आउनुअघि यी दुई नेताबिच केही बेर राम्रै छेडखानी चल्यो । सुरुआत मोदीले गरे । 

 ‘यहाँ एमालेको राम्रै छ त हौ मेयर सा’ ब, के दुःख गर्नुहुन्छ बेकारमा । हामी पो तेस्रो थियौँ र दुःख गरिरहेका छौँ’, मोदीले भने ‘के छ, कता कता पुग्दै हुनुहुन्छ ?’ 

चौधरीले पनि जवाफ फर्काए ‘म केही दिनदेखि यतै छु, केही केही ठाउँमा मोदी आतङ्क छ रे, त्यही भूत भगाउन भनेर म आएको हुँ ।’ ‘यहाँ मेरो आतङ्क होइन, प्रेम छ जनतासँग’, मोदीले पनि हाँसेरै जवाफ फर्काए ‘साथी हो छ त मोदी आतङ्क ?’ उनले आफूसँगै चिया पिउन बसेकाहरूतिर जिज्ञासापूर्ण नजर लगाए । उनीहरूले ‘छैन, छैन’ भने । 

त्यसपछि उनीहरूबिच थप कुरा अघि बढ्यो । मोदीले चौधरी र माओवादी प्रदेश अध्यक्ष नेम्वाङको चिनजान गराउन खोजे । उनले पहिला नै चिनेको भनेपछि थप कुर भएका थिए । यसै गरी गफिँदै, भेटिँदै, छुट्टिँदै आफ्ना पक्षमा मतदातालाई आकर्षित गर्न नेताहरू  लागिपरेका छन् ।  कुनै चोकमा भेट हुँदा नेताहरू आफ्ना कुरा गर्छन् भने मतदातालाई आफ्नै हो जस्तो भान दिलाउँछन् ।