विराटनगर  । प्रतिनिधि सभा पूर्व उपसभामुख डा. शिवमाया तुम्बाहाम्फेद्वारालिखित नेपालमा महिला आन्दोलन पुस्तक अनुसन्धानमा आधारित भएको समीक्षकहरूले बताएका छन् । 
वि.स. २००४ देखि २०४६ सम्म भएको नेपाली महिला आन्दोलन र विश्व महिला आन्दोलनमा केन्द्रित रहेर लेखिएको पुस्तकको शनिवार विराटनगरमा समीक्षा गरिएको थियो । वि.सं. २०५९ सालमा पहिलो संस्करण र हालै प्रकाशित दोस्रो संस्करणको विराट साहित्य सङ्गमले आयोजना गरेको पुस्तक चर्चा कार्यक्रमका समीक्षकहरूले पुस्तक अनुसन्धानमा आधारित रहेको बताएका हुन् ।
462583109_945379870827576_7295611876844519301_n
पुस्तकको समीक्षा गर्दै विराट साहित्य सङ्गमका सल्लाहकार दिनेश श्रेष्ठले नेपालको महिला आन्दोलनबारे रुचि राख्नेहरूका लागि पुस्तक महत्त्वपूर्ण रहेको बताए । उनले महिला आन्दोलनको इतिहास र विश्व महिला आन्दोलनबारे पुस्तकमा समेटिएको बताए । महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस विराटनगरमा प्राध्यापनरत इन्दिरा प्रसाईँले नेपालमा महिला आन्दोलन सबैले पढ्नुपर्ने कृति रहेको बताए । उनले पुस्तकलाई अझै अनुसन्धानमूलक बनाउन आवश्यक रहेकोमा जोड दिए ।  आर्थिक, राजनीतिक र सामाजिक विभेदमा परेका महिलाका सवालहरू पुस्तकमा समेटिएको उनले बताउनुभयो । वि.सं.२०६२–०६३ को महिला आन्दोलनलाई पनि पुस्तकमा समेट्न उनले आग्रह गरे । ‘महिला आन्दोलन इतिहासको अभिलेख पुस्तकमा समावेश छ, उनले भने, महिलाहरूले अझै कार्यकारी नेतृत्वमा पुग्न नसकेको र नेपाल, राजनीति र महिलाका बारेमा पुस्तक जानकारी मूलक रहेको छ ।’ 
462548834_8803218199793107_7469093782613126274_n
एमाले केन्द्रीय उपाध्यक्ष गुरु बरालले पुस्तकले विश्वको महिला आन्दोलन समेट्न सके अझ राम्रो हुने सुझाव दिए । उनले महिला आन्दोलनको इतिहास खोज्नका लागि पुस्तक महत्त्वपूर्ण श्रोतका रूपमा रहेको उल्लेख गरे ।  एमाले केन्द्रीय सदस्य तथा कोसी प्रदेशका पूर्व मन्त्री जीवन घिमिरेले महिला अधिकार क्षेत्रमा युगान्तकारी परिवर्तन भएको बताए ।  नेपालमा महिला आन्दोलन पुस्तक महिलाको लागि प्रेरणाको श्रोत बन्ने उनको भनाई छ।
प्रा.डा. हरिहर भण्डारीले नेपाली महिला संस्कृतिको कुरा पुस्तकले समेट्न नसकेको बताए । उनले महिलालाई उच्च सम्मान दिएकाले नेपाली महिला संस्कृतिको विषय समेट्न आग्रह गरे । उनले महिला संस्कृतिको कुराले हाम्रो संस्कृति र सभ्यतालाई बल पुग्ने बताए ।
। कवि शिवनारायण पण्डित (सिङ्गल)ले वर्तमान समयमा महिलाले गरेको योगदान समेट्न आग्रह गरे । 
डा. शिवमाया तुम्बाहाम्फे छुटेका विषयहरू आगामी संस्करणमा थपिने प्रतिबद्धता जनाइन् । उनले नेपालको महिला आन्दोलनको प्रारम्भ २००४ देखि ०४६ सम्मको राजनीतिक आन्दोलनलाई पुस्तकले समेटेको बताइन् । उनका अनुसार, विद्यार्थीका लागि पनि पुस्तक आवश्यक रहेको छ । पुस्तक चर्चा कार्यक्रममा प्राज्ञ खेम नेपाली, साहित्यकार बलराम पोखरेल, शुभ लक्ष्मी लम्साल, रामबाबु दाहाल लगायतले २०४६ पछिका महिला आन्दोलनका विषयलाई समेटेर चाँडै अर्को संस्करण ल्याउन सुझाव दिए ।  डा. तुम्बाहाङफेद्धारा लिखित पुस्तक नेपालमा महिला आन्दोलन दोस्रो संस्करण विराट साहित्य सङ्गम विराटनगरले प्रकाशन गरेको हो ।