विराटनगर । नेपाली काँग्रेस केन्द्रीय समितिले डा शेखर पक्षले विराटनगरमा राखेको प्रदेशका पालिकाहरूको भेला रोक्न खोजे पनि प्रदेशका सभापतिहरूको भेला नरोकिने भएको छ । मोरङका सबै पालिकाहरू आयोजक रहेको सभापतिहरूको भेलामा सहभागी हुन प्रदेशका धेरै जसो पालिकाबाट सभापतिहरू विराटनगरमा भेला भएका छन् ।

भेलामा सहभागी हुन ५ वटा महानगरका सभापतिहरू पनि विराटनगरमा आएका छन् । विराटनगर महानगरपालिकाका सभापति तथा भेलाका संयोजक दीपक चापागाईँले भेलामा सहभागी हुन प्रदेशका ११३ पालिकाका सभापतिहरू विराटनगर आई सकको बताए । उनले भने, यो हामीले आज तय गरेको कार्यक्रम होइन । दसैँ अगाडि नै निर्णय भएको कार्यक्रम भएकाले कसैले भेला रोकेर रोकिँदैन । 

नेपाली काँग्रेस कोशी प्रदेश समितिको सम्मेलन मङ्सिर २२ गते गर्ने तयारी रहेको छ । सो सम्मेलनलाई प्रभाव पार्ने गरी सभापतिहरूको भेला आयोजना गरेको भन्दै विरोध भएको थियो । प्रदेश सभापति उद्धव थापाले पालिकाको सभापतिहरूको भेलाका बारेमा आफूलाई थाहा नभएका बताउँदै आएका छन्  ।

प्रदेश समितिसँग सल्लाह नगरी भेला राखिएको भन्दै नेपाली काँग्रेस केन्द्रले हिजो विज्ञप्ति जारी गर्दै मङ्सिर २२ गते भन्दा अगाडि कोशी प्रदेशमा नेपाली काँग्रेसको कुनै कार्यक्रम नभएको जनाएको छ । 
सभापतिहरूको भेलाका संयोजक चापागाईँले यो कुनै गुटको भेला नभएर नेपाली काँग्रेसको कार्यक्रम भएको बताए ।

उनले प्रश्न गरे, गुटको भेला भएको भए १३७ वटा पालिका मध्ये ११३ वटा पालिकाका सभापतिहरू डा शेखर पक्षका हुन् ? यो भेला पाटी बलियो बनाउनका लागि हो ।