सुनसरी- सुनसरी प्रहरीले मङ्गलवार राती बरामद गरेको करिब ७ सय केजी लागु औषध गाँजा लोड गरिएको गाडी सरकारी नभएको पुष्टि भएको छ । सुनसरी प्रहरीले बिहीबार इलाका प्रहरी कार्यालय धरानमा पत्रकार सम्मेलन गरी सरकारी नम्बर प्लेट राखिएको दुई वटा गाडी सरकारी नभएको जनाएको हो । इलाका प्रहरी कार्यालय धरानको टोलीले चार राउन्ड गोली समेत चलाएर नियन्त्रणमा लिएको उक्त गाडी कारोबारीले सरकारी किर्ते नम्बर प्लेट लगाएर चलाएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक रामप्रसाद तिमल्सिनाले जनाकारी दिए । 
       प्रहरीले कोसी राजमार्ग अन्तर्गत धनकुटाबाट गाँजा लिएर धरानतर्फ आउँदै गरेको सरकारी नक्कली नम्बर प्लेट भएको बा १ झ ४६०५ नम्बरको स्कारपियो र बा १ झ ५१२७ नम्बरको कार मङ्गलवार राती रोकेर चेकजाँच गर्ने क्रममा गोली चलाएर नियन्त्रणमा लिएको थियो । नियन्त्रणमा लिएको दुवै गाडीको च्याचिस नम्बर र इन्जिन नम्बरहरू हालसम्म दर्ता भएका गाडीहरूको हो भन्ने यकिन हुन नसकेको र थप विस्तृत अनुसन्धान र्भरहेको प्रहरी नायब उपरीक्षक तिमल्सिनाले जानकारी दिए । 
IMG_7070
     बरामद भएका गाडी सरकारी अड्डाका नम्बर प्लेट राखेर लागु औषध गाँजा तस्करीको लागि प्रयोग भएको खुल्न आएकाले मुलुकी अपराध संहिता को परिच्छेद २५ को दफा २७६ को उप-दफा २ को ख बमोजिमको कसुरमा अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय धरानका प्रहरी नायब उपरीक्षक प्रकाश जबेगुले जानकारी दिए । सरकारी किर्ते नम्बर भएको बा १ झ ४६०५ नम्बरको गाडी चालक मोरङको सुन्दरहरैँचा नगरपालिका-११ का ३६ वर्षीय श्यामकुमार विश्वकर्मा पक्राउ परे पनि अर्का चालक गाडी छाडेर फरार रहेका छन् । उनको समेत खोजी भइरहेको प्रहरीले जनाएको छ ।