सुनसरी- धरान उपमहानगरका प्रमुख हर्क साम्पाङले पत्रकारहरूलाई दिएको धम्कीको बचाउ गरेका छन् ।
उनले बुधवार साँझ फेसबुकमा स्ट्याटस लेख्दै पत्रकारहरूको नामै तोकेर तथानाम गाली गर्दै धरानका पत्रकारलाई शिर ठाडो पारेर हिँड्न नदिने धम्की दिएका थिए । साम्पाङको धम्कीपूर्ण अभिव्यक्तिको चौतर्फी आलोचना भएपछि उनले पत्रकार सम्मेलन मार्फत आफूले बेथिति नमच्चाएको दाबी गरेका छन् ।
केही दिन अघि धरानका पत्रकार गोपाल दाहालले खोज पत्रकारिता केन्द्रका लागि मेयर हर्क साम्पाङको मन मौजी शासन, बेतिथिको दलदलमा धरान शीर्षकमा समाचार लेखेका थिए । साम्पाङले दाहालको र नेपाल पत्रकार महासघ सुनसरीका अध्यक्ष जनकऋषी राईको नामै तोकेर धम्की दिएका थिए । तर साम्पाङले उक्त धम्की प्रति आत्मालोचना गर्नुको साटो अदालत र प्रहरी प्रशासनमाथि समेत आक्रोसपूणर् अभिव्यक्ति दिनुका साथै पत्रकारहरूले खान नपाएर समाचार लेखेको गम्भीर आरोप लगाएका छन् । 
      अधिकांश युवट्युबरहरुको उपस्थित रहेको पत्रकार सम्मेलनमा समाचारप्रति विश्वास नभए कानुनी प्रक्रिया तर्फ नगईकन धम्की दिनु राम्रो हो त भन्ने प्रश्नमा साम्पाङले आफूलाई अदालत र प्रहरी प्रशासनप्रति विश्वास नभएको जवाफ दिएका छन् । आफूले बेथिति अत्य गर्न खोज्दा प्रहरी र अदालतको साथ नपाएको अवस्थामा कानुनी उपचार नखोजेको उनको गुनासो थियो । कानुनको ठेली बोक्नेहरू नै स्वतन्त्र मेयरको पक्षमा नभएको आरोप लगाउँदै उनले आफ्नो कानुनी उपचार नखोजेको बताए ।
साम्पाङले भने - धरानमा श्रममा मात्र सुधार भएको छैन, आज हेर्नुस् शिक्षामा सुधार भएको छ, स्वास्थ्यमा सुधार भएको छ कर्मचारीहरू डिसिप्लेन छन्, एक रुपैयाँ तलमाथि हुने बित्तिकै मैले त्यसलाई निकाल्ने गरेको छु तर उच्च अदालतले खाली स्टेअर्डर दिनुहुँदैन अदालतलाई पनि म भन्न चाहन्छु अदालत र प्रहरीले साथ दिने हो भने दलाल फटाहरूलाई एक दिनमा तह लगाउँछु तर मलाई अदालत र प्रहरीले भनेजस्तो सहयोग गरेको छैन ।
      यसैबिच सुनसरीमा क्रियाशील पत्रकारहरूले साम्पाङको धम्कीपूर्ण अभिव्यक्तिको विरोध गरेका छन् । नेपाल पत्रकार महासंघ सुनसरीमा बिहीबार भेला भएका सञ्चारकर्मीहरूले बारम्बार धम्कीपूर्ण अभिव्यक्ति नदिन साम्पाङलाई चेतावनी दिएका छन् । नेपाल पत्रकार महासंघ सम्बद्ध संघ सस्थाहरुका अगुवाहरूले पनि साम्पाङको धम्कीको घोर भर्त्सना र विरोध गर्दै पत्रकार प्रति पटक पटक धम्की र गाली गर्दा लोकतन्त्रको उपहास भएको उल्लेख गरेका छन् ।