इटहरी । तोकिएको मूल्य भन्दा बढि मूल्यमा पानी बेचेको भन्दै इटहरीको इलाइट सिनेमा हललाई ३ लाख रुपैँया जरिवाना गरिएको छ ।
इटहरी ४ मा रहेको इलाइट सिनेमा हलले किन्ले ब्राण्डको पानी अधिकतम खुद्रा मुल्य(एमआरपी) भन्दा बढिमा विक्री गरेको भन्दै वाणिज्य आपुर्ति तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरले कारबाही गरेको हो ।
उपभोक्ताले दिएको उजुरीको आधारमा वाणिज्य कार्यालय विराटनगर र इटहरी उपमहानगरपालिका राजश्व शाखाको टोलीले विहिबार अनुगमन गरेको थियो ।
उजुरीका आधारमा सम्बन्धित पक्षलाई कारबाही गरिएको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यलय विराटनगरका सूचना अधिकारी दिर्घबहादुर घिमिरेले जानकारी दिए ।
अधिकतम खुद्रा मुल्य ३५ रुपैँया रहेको किन्ले ब्राण्डको पानी इलाइट सिनेमाले ५० रुपैयाँमा विक्रि गरेको थियो । सो विषयमा एक उपभोक्ताले तिरेको बिल सहित वाणिज्य कार्यलय विराटनगरमा उजुरी दिएका थिए ।
विहिबार गरिएको अनुगमनका क्रममा इलाइट सिनेमाका व्यवस्थापकले बढि मुल्य लिएको विषय स्वीकार गरेको वाणिज्य कार्यलय विराटनगरका सूचना अधिकारी घिमिरेले जानकारी दिएका छन् ।