विराटनगर । थिति र विधि विपरित काम गर्दै आएका धरानका मेयर हर्क साम्पाङ विरुद्ध प्रहरीमा उजुरी परेको छ । 

उनको कामका विषयमा समाचार लेखेका पत्रकारलाई सामाजिक सञ्जाल मार्फत धम्की दिएका मेयर साम्पंग विरुद्ध इलाका प्रहरी कार्यालय धरानमा उजुरी परेको हो । 

पत्रकार महासंघ सुनसरीको भेला पछि नेपाल पत्रकार महासङ्घ सुनसरी जिल्ला अध्यक्ष जनक ऋषि राई र केन्द्रीय पार्षद् गोपाल दाहालले शान्ति सुरक्षा सहित आवश्यक कारबाहीको माग गदै प्रहरीमा कार्यालयमा उजुरी दिएका हुन् । प्रहरीले उजुरी भने दर्ता गरेको छैन । 

दुई दिन अघि साम्पाङले सामाजिक सञ्जाल मार्फत पत्रकार महासंघ सुनसरीका अध्यक्ष जनकऋषी राई र पत्रकार दाहाललाई धम्की दिएका थिए  । 

उनले आफू नियमित रूपमा जाने पसलमा बिहीबार उपस्थित हुन आदेश दिएका थिए । 

उनको अभिव्यक्तिले आफूहरू असुरक्षित भएको भन्दै पत्रकारहरूले सुरक्षाको माग समेत गरेका छन् । उजुरीमा सामाजिक सञ्जालमा धम्कीपूर्ण ‘कमेन्ट’ गर्नेहरू लेखक राई सहित दर्जन व्यक्तिलाई तत्काल कारबाही गर्न पनि माग गरिएको छ ।

दाहालले  खोज पत्रकारिता केन्द्रका लागि ‘हर्क साम्पाङको मौन मौजी शासन बेथितिको दलदलमा धरान’ शीर्षकको समाचार लेखेका थिए । सो समाचार हिमालखबर डटकममा  मङ्सिर १४ गते प्रकाशित भएको थियो ।

सोही समाचार प्रति लक्षित गर्दै प्रमुख साम्पाङले तथानाम गाली गलौज र अपशब्द प्रयोग गरी चोर फटाहा, तेरो पत्रकारिताको अन्त्य गर्छु तँ मुलाको यसरी बेईज्जेत गर्छु की शिर ठाडो पारेर नेपालमा हिँड्न नसक्ने पारिदिन्छु भनी सामाजिक सञ्जाल मार्फत धम्की दिएका थिए ।

युटुवर भेला पारेर अदालतलाई चुनौती 

समाचार लेखेका पत्रकारलाई चिया पसलमा हाजिर हुन धम्की दिएका साम्पाङले बिहीबार पत्रकार सम्मेलन गरेर अदालतलाई समेत चुनौती दिएका छन् । उनले आफूmले राम्रो काम गर्न खोज्दा पनि अदालत र प्रहरीले भाँजो हालेको भन्दै आक्रोश पोखेका छन् । उनले भने, कानुन हामीले बनाउने हो । जनताले छानेको प्रतिनिधि म हो । हामीलाई चाहिने कानुन मैले बनाउने हो । के को कानुन रु 

उनले उप मेयरले आफूलाई शुभ यात्रा समेत नभनेकाले वडाध्यक्षलाई कार्यवाहक मेयर दिएको बताए । उनले पत्रकार सम्मेलनमा भने, शुभ यात्रा भन्न पर्दैन रु शुभ यात्रा समेत नभन्नेलाई के को कार्यवाहक । 

मेयर साम्पाङले तिहार छेका बेलायत भ्रमणमा जाँदा वडाध्यक्षलाई कार्यवाहक दिएका थिए । 

उनले वडाध्यक्षलाई कार्यवाहक दिएको विषयमा उप मेयर आइन्द्र विक्रम बेघा उच्च अदालत रिट लिएर गएका थिए । बेघाको रिटमा सुनुवाइ गर्दै अन्तरिम आदेश जारी गरेको थियो ।

सो विषयमा समेत साम्पाङले आक्रोश व्यक्त गरेका छन् । युटुबरहरु भेला पारेर मेयर साम्पाङले पत्रकारहरूलाई तथानाम गाली समेत गरेका छन् । उनले पत्रकार र अदालतलाई गाली गरेको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ ।