सुनसरी- धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्क साम्पाङले आफू विरुद्ध समाचार लेख्ने पत्रकारलाई कारबाही गर्न आग्रह सहितको तीन वटा पत्र संघीय सरकारलाई पठाएका छन् । आफू विरुद्ध समाचार लेख्ने पत्रकार र नदीजन्य पदार्थ उत्खनन गर्ने माथी कारबाही गर्न गृह मन्त्रालयलाई दुइटा पत्र र प्रशासकीय अधिकृत पठाइदिन सामान्य प्रशासन मन्त्रालयलाई पत्र लेखेका हुन ।
      आइतबार संघीय सरकारलाई पहिलो पत्र पठाएका साम्पाङले आफू विरूद्ध समाचार लेखेका पत्रकारलाई कारबाही गर्न गृहमन्त्री रमेश लेखकलाई आग्रह गरेका छन् । खोज पत्रकारिता केन्द्रका लागि पत्रकार गोपाल दाहालले ’हर्क साम्पाङको मनमौजी शासन, बेतिथिको दलदलमा धरान’ शीर्षकमा समाचार लेखेका थिए । उक्त समाचार प्रकाशित भए लगत्तै आक्रोशित बनेका नगरप्रमुख साम्पाङले दाहाल सहित पत्रकार महासङ्घ सुनसरी अध्यक्ष जनक ऋषि राईलाई कारबाही गर्न गृहमन्त्री लेखकलाई पत्र लेखेका हुन । पत्रकार दाहालले समाचारमा आफूलाई नक्कली माओवादी बनेर चन्दा असुलेको उल्लेख गरेको र उक्त विषय झुटो भएको साम्पाङले गृहमन्त्रीलाई लेखेको पत्रमा दाबी गरिएको छ । उक्त समाचारलाई जनक ऋषि भन्ने व्यक्तिले दुष्प्रचार गरेको साम्पाङको आरोप छ । 
     साम्पाङले पत्रमा लेखेका छन्- ‘दुवैलाई कानुन मुताबिक कारबाही गरी लोकतन्त्रमा नागरिकको मताधिकार र जनदेशबाट निर्वाचित नगर प्रमुखजस्तो पदलाई अपमान र अनादर गरी भ्रम फैलाउने तथा मानहानि गरी प्रेस स्वतन्त्रताका नाममा पार्टीगत आग्रह पूर्वाग्रह राखी लोकतन्त्रलाई नै निकृष्ट र बदनाम  गर्ने आपराधिक, असामाजिक, अमर्यादित कृत्य र त्यसबाट हुन जाने विकृतिलाई रोक्न आवश्यक कदम चालियोस् भन्ने अनुरोध छ,’ । साम्पाङले प्रेस स्वतन्त्रताको नाममा व्यक्ति र पद दुवैको मानहानि गर्नेलाई कारबाही गर्न पनि पत्र मार्फत माग गरेका छन् । शुक्रवार सुनसरीका पत्रकारहरूले साम्पाङको धम्कीपूर्ण अभिव्यक्ति विरुद्ध धरान पुगेका गृहमन्त्री लेखकलाई ध्यानाकर्षण गराएका थिए । त्यस लगतै आइतबार कार्यालय खुलेसँगै साम्पाङले गृहमन्त्रीलाई पत्र लेख्दै आफूविरूद्ध समाचार लेखेका पत्रकारलाई कारबाहीको माग गरेका हुन् । 
       आइतबार गृह मन्त्रालयलाई दोस्रो पत्र लेखेका साम्पाङले नदीजन्य पदार्थ उत्खनन गर्ने तस्करीको गाडी नियन्त्रणमा लिन माग गर्दै पत्र पठाएका छन् । नेपाली काँग्रेसका कार्यकर्ता समेत रहेका धरान ५ का सन्तोष लिम्बुले सरकारी जग्गामा ढुङ्गा निकालेर बिक्री गरेको पत्रमा  उल्लेख गरेका छन् । मङ्सिर ४ गतेदेखि नगर प्रहरीलाई ढुङ्गा झिक्ने गरेको ठाउँमा खटाउनु परेको र नेपाल प्रहरीले सहयोग पनि नगरेको साम्पाङले आरोप लगाएका छन् । उत्खनन र ढुवानीमा प्रयोग भएका सवारी साधनलाई नियन्त्रणमा लिन जिल्ला प्रशासन कार्यालय सुनसरीमा पत्र पठाए पनि काम हुन नसकेकोले गृह मन्त्रालयमा जानकारी सहित पत्र पठाउनुपरेको उनले उल्लेख गरेका छन् । साम्पाङले प्रमुख प्रशासकीय अधिकृत पठाइदिन सामान्य प्रशासन मन्त्रालयलाई पत्रमार्फत आग्रह गरेका छन् । प्रमुख प्रशासकीय अधिकृत नहुँदा काम गर्न गाह्रो भएको उल्लेख गर्दै पठाउन पत्रमा आग्रह गरेका छन् ।