सुनसरी- धरानका मेयर हर्क साम्पाङ र उनका समर्थकले पत्रकारलाई धम्की दिएको विरोधमा प्रशासनको ध्यानाकर्षण गराइएको छ ।

अन्तर्राष्ट्रिय मानव अधिकार दिवसका दिन मङ्गलवार नेपाल पत्रकार महासङ्घ सुनसरीको अगुवाइमा पत्रकार हर्ष सुब्बा, महासङ्घ सुनसरी अध्यक्ष जनकऋषी राई, पाँचथर अध्यक्ष गिरिराज बाँस्काेटा र तेह्रथुम अध्यक्ष अमृत बास्तोलाले धरान स्थित इलाका प्रशासन कार्यालयका प्रमुख लक्ष्मीप्रसाद रेग्मीलाई ध्यानाकर्षण पत्र बुझाएका हुन् ।

नेपालको संविधानले प्रस्तावनामै पूर्ण प्रेस स्वतन्त्रताकाे ग्यारेन्टी गरेको र स्वतन्त्रता पूर्वक बोल्न र लेख्न पाउने मौलिक हक प्रदान गरेको भए पनि मेयर साम्पाङले पत्रकारिताको अन्त्य गरिदिने, नेपालमै बस्न नसक्ने बनाइदिने भन्दै पत्रकारलाई बहिष्कार गर्न आव्हान गर्दै आएको भन्दै ध्यानाकर्षण गराइएको छ । ध्यानाकर्षण पत्र बुझ्दै प्रमुख रेग्मीले सबैका लागि कानुन बराबर भएकाले कानुन अनुसार आफ्नो तहबाट प्रक्रिया अघि बढाउने बताए । यसअघि  शनिबार सुनसरीका पत्रकारहरूले प्रेस स्वतन्त्रताको माग गर्दै मौन जुलुस प्रदर्शन गरेका थिए । 

समाचार लेखेकै कारण साम्पाङले सामाजिक सञ्जाल मार्फत धम्की दिएपछि पत्रकारहरू आन्दोलित भएका हुन । मौन जुलुसमा सहभागी पत्रकारहरूले प्रमुख साम्पाङले प्रेस स्वतन्त्रता माथि ठाडो हस्तक्षेप गरेको विरोधमा प्रेस स्वतन्त्रता कायम गर, शासक कि जनप्रतिनिधि ? हामी यसको जवाफ चाहान्छौं ।, डर धम्की बन्द गर, नागरिकलाई थुक्न पाइँदैन, पत्रकारलाई थुक्न पाइँदैन लेखिएका पर्चा हात हातमा लिएका थिए । 

साम्पाङको धम्की बिरुद्ध शुक्रबार गृहमन्त्री रमेश लेखकलाई ध्यानाकर्षण गराएका पत्रकारहरुले शुक्रबार नै इलाका प्रहरी कार्यलय धरानमा उजुरी समेत दिएका छन ।