विराटनगर ।  विराटनगरमा दुई दिने रोजगार मेला सुरु भएको छ। विराटनगर महानगरपालिकाको आयोजनामा रोजगार मेला सुरु भएको हो ।  युवा जनशक्तिको वैदेशिक पलायनलाई रोक्ने  उद्देश्यले स्वदेशमा नै रोजगारीको अवसर प्रदान गर्न कोलागि मेला आयोजना गरिएको विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले जानकारी दिए । विराटनगर महानगरपालिकाले बेरोजगार युवा युवतीलाई रोजगारीको अवसर प्रदान गर्न, युवा श्रम शक्ति र रोजगारदाताको बिचमा समन्वय गर्ने गरी रोजगार मेला आयोजना गरिएको महानगरको दाबी छ । विराटनगर महानगरपालिकाका मेयर कोइरालाले तीन सय भन्दा बढी बेरोजगार युवा युवतीले रोजगार  प्राप्त गर्ने बताए । 
‘२०८० सालमा आयोजना गरिएको पहिलो महानगर रोजगार मेलाबाट एक सय ९७ जना युवा रोजगार भएका थिए, उनले भने, यो वर्ष तीन सय जना भन्दा बढी बेरोजगार युवाले रोजगार प्राप्त गर्नेछन् ।’ 
विराटनगर महानगरपालिकाकी उपप्रमुख शिल्पा निराला कार्कीले रोजगार उपलब्ध गराउने निकाय र रोजगारको खोजीमा रहेका युवा युवतीलाई एउटै थलोमा राखेर पुलको काम महानगरपालिकाबाट भएको बताइन् । ‘महानगरपालिकाले हरेक वर्ष रोजगार मेला आयोजना गर्ने गरेको छ, उनले भनिन्, बेरोजगारलाई रोजगारी सिर्जना गर्न, बेरोजगार र रोजगारदाताको बिचमा सम्बन्ध स्थापित गर्न कोलागि पनि मेलाको महत्त्वपूर्ण छ ।’
उद्योग सङ्गठन मोरङका अध्यक्ष राकेश सुरानाले नेपालमा दक्ष  प्राविधिक नहुँदा भारतबाट कामदारहरू ल्याउनु पर्ने बाध्यता विद्यामान रहेको उल्लेख गरे ।  अहिले पनि बजारमा जनशक्तिको अभाव छ तर प्राविधिक श्रम शक्तिको अभाव रहेको उनको भनाई छ । विराट व्यापार सङ्घको उपाध्यक्ष शरद श्रेष्ठ, नेपाल घरेलु तथा साना उद्योग महासङ्घ मोरङका अध्यक्ष चेतन निरौला लगायतले घरेलु तथा साना उद्योगमा युवा तथा किशोरीहरूले रोजगार प्राप्त गर्दै आएको बताए ।
विराटनगर महानगरपालिकाले वडा नम्बर ७ मा रहेको  इको पार्कमा आयोजित रोजगार मेला मङ्गलवारसम्म चल्नेछन् । ३० वटा बढी स्टल रहेको रोजगार मेलामा आफ्नो दक्षता र सीपको आधारमा रोजगार दाताले युवा जनशक्तिसँग परामर्श गर्दै छन् ।