विराटनगर । विराटनगरस्थित आदर्श माविले महानगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि जितेको छ । 
विराटनगर महानगरपालिकाले शहीद रङ्गशालामा आयोजना गरेको प्रतियोगितामा १५ स्वर्ण, १२ कास्य र १२ वटा रजत पदकसहित आदर्शले उपाधि जित्न सफल भएको हो । प्रतियोगिताको शुक्रवार मेयर नागेश कोइरालाले उद्घाटन गरेका थिए ।  तीन दिनसम्म सञ्चालन भएको प्रतियोगितामा कूल २८ पदकसहित एभरेस्ट मावि दोस्रो भएको छ । दोस्रो भएको एभरेस्टले ७ स्वर्ण, ७ कास्य र १४ रजत पदक जित्न सफल भयो । ५ स्वर्ण, २ कास्य र ७ रजतसहित सत्यनारायण मावि तेस्रो भएको छ । भलिबलको स्पर्धामा छात्र र छात्रा दुवैतर्फ कान्तिपुर माविले उपाधि जितेको छ । कबड्डीको छात्रतर्फ अर्किट माविले र छात्रातर्फ मिल्स माविले उपाधि जिते । विजेता विद्यालयलाई महानगरका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुली, शैक्षिक प्रशासन महाशाखा प्रमुख रामप्रसाद ढुङ्गेललगायतले शिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरेका थिए ।
पोखरिया माविले संयोजन गरेको प्रतियोगितामा ३३ सामुदायिकसहित ६२ विद्यालयले भलिबल, कबड्डी, एथलेटिक्स, मार्सल आर्ट गरी ४ विधाका ६६ वटा खेलमा सहभागिता जनाएका थिए । प्रतियोगितामा १ हजार ४१८ जना खेलाडीले प्रतिस्पर्धा गरेको महानगरको शिक्षा महाशाखाका अधिकृत कृष्ण भट्टराईले जानकारी दिए । प्रतियोगितामा ११७ जना प्रशिक्षक र २१ जना खेल शिक्षकले प्रतियोगितामा सहभागी विद्यार्थीहरूलाई प्रशिक्षण दिएको थिए । पोखरिया माविका प्रधानाध्यापक खेम भट्टराईले पोखरिया माविलाई प्रतियोगिताको संयोजन गर्ने जिम्मेवारी दिएकोमा महानगरलाई धन्यवाद दिए । उनले यस्ता प्रतियोगिताले विद्यालयहरूले आफ्नो अतिरिक्त क्रियाकलापलाई बढाएर जानेमा विश्वास व्यक्त गरे ।