विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पत्रकारहरूले लोकतन्त्रको सुदृढीकरण र विधिको शासनका लागि भूमिका खेल्नु पर्ने बताएका छन् ।   विराटनगरमा राष्ट्रिय समाचार समिति (रासस)ले आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा बोल्दै मुख्यमन्त्री कार्कीले सत्य र तथ्यका आधारमा पत्रकारहरूले राष्ट्रको पहरेदारी गर्नु पर्ने बताए ।  अहिले नो नट अगेनका नाममा अनावश्यक रूपमा भ्रम फैलाउने काम भइरहेको छ, यस्ता प्रवृत्तिलाई निरुत्साहित गर्नु पर्ने उनको भनाई छ । 

 कार्कीले नो नट अगेनहरुले गरेका गतिविधिहरूबाट समाज छर्लङ्गै भएको बताउँदै यस्ता गतिविधिको निगरानी गर्दै पत्रकारहरूले जागरूकता पैदा गर्नु पर्नेमा जोड दिए ।  केही भएकै छैन भाष्य सृजना गरेर अराजकता फैलाउनेहरूका विरुद्ध लाग्नु पर्ने कार्कीले बताए । कार्यक्रममा कोशी प्रदेश सरकारका आन्तरिक मामिला कानुन मन्त्री रेवतिरमण भण्डारीले प्रदेश सरकार पत्रकारहरूसँग सहकार्य गरेर काम गर्न तयार रहेको बताए ।  राष्ट्रिय समाचार समितिका अध्यक्ष धर्मेन्द्र झा र महाप्रबन्धक सिद्धराज राईले राष्ट्रिय समाचार समितिले गरिरहेको कामका बारेमा जानकारी गराएका थिए ।  सो अवसरमा राससका अध्यक्ष झाले लेखेको मैथिली भाषाको पुस्तक 'मिथिला मिथक' पनि विमोचन गरिएको थियो ।