विराटनगर । माइती नेपालले मोरङ प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएको छ । उद्धार तथा स्वदेश फिर्ती प्रक्रियामा अस्पष्टता भएको विषय प्रति संस्थाको गम्भीर ध्यानाकर्षण भएको भन्दै ज्ञापन पत्र बुझाएको हो । नेपाल भारतको सीमा नाका भएर भारतका विभिन्न सहरहरूमा गैर कानुनी तरिकाले मानव बेचबिखन तथा ओसारपसारबाट पीडित तथा प्रभावित नेपाली नागरिकहरूको फिर्ती तथा उद्धार प्रक्रिया झन्झटिलो रहेको छ। 
मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) नियमावली २०६५ मा व्यवस्था भए अनुसार विदेशमा अलपत्र परेका पीडितहरूको उद्धार गर्ने तथा निजको सहमतिमा स्वदेश फिर्ती गर्ने व्यवस्था भएता पनि हालसम्म यस सम्बन्धी स्वदेश फिर्ती कार्यविधि बन्न नसकेको ज्ञापन पत्रमा भनिएको छ।  नियमावली बने पनि कार्यविधिको अभावमा उद्धार तथा स्वदेश फिर्ती कार्य नितान्त सीमित संस्थाहरूको पहलको आधारमा मात्र भइरहेको ज्ञापन पत्रमा उल्लेख गरिएको छ । 
CDO Singature Photos (13)
‘नेपाल सरकारको तर्फबाट छुट्टै “स्वदेश फिर्ती कार्यविधि” निर्माणको लागि माइती नेपाल माग गर्दछ, ज्ञापन पत्रमा भनिएको छ,  यस संस्थाको विभिन्न जिल्लामा “मानव बेचबिखनबाट प्रभावितहरूको उद्धार, स्वदेश फिर्ती र सामाजिक पुनर्स्थापना कालागि “मानक सञ्चालन कार्यविधि” हस्ताक्षर अभियान सञ्चालनमा ल्याएको छ, कार्यविधि अविलम्ब कार्यान्वयन गर्न माग गर्दछौँ ।’ 
जिल्लाको मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण जिल्ला समिति मार्फत नेपाल सरकारसँग “स्वदेश फिर्ती कार्यविधि”कार्यान्वयन प्रक्रियाको वातावरण बनाउनको लागि ज्ञापन पत्रमा माग गरिएको छ । 

ज्ञापन पत्र बुझाउँदै  माइती नेपालका कार्यक्रम संयोजक विनोद पोखरेलले स्वदेश फिर्ती कार्यविधि कार्यान्वयनमा नलग्दा सीमा नाकामा बसेर काम गर्ने संस्थाहरूले समस्या बेहोर्दै आएको बताए ।  माइती नेपालले विगत ३२ वर्षदेखि मानव बेचबिखन र लैङ्गिक हिंसा विरुद्ध काम गर्दै आएको छ। माइती नेपालले राज्यका विभिन्न निकायहरूसँग सहकार्य, समन्वय र छलफल गरी मानव बेचबिखन तथा लैङ्गिक हिंसा रोकथामका विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको संयोजक पोखरेलले बताए ।