सुनसरी । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले अहिलेको सत्ता गठबन्धन दलले भ्रष्टाचारलाई संस्थागत गरेको आरोप लगाएका छन् । शनिवार इटहरीमा राप्रपा कोसी प्रदेश कमिटीले आयोजना गरेको विरोध सभामा बोल्दै लिङदेनले काँग्रेस र एमालेको गठबन्धनको मुख्य ध्यान नै भ्रष्टाचारलाई कसरी संस्थागत गर्न सकिन्छ भन्नेमा केन्द्रित रहेको बताए । काँग्रेसले र एमालेले विगतमा जति पटक सरकार चलाए त्यत्ति पटक नै उनीहरूको मुख्य ध्यान भ्रष्टाचार गर्नमा नै गएको बताउँदै अध्यक्ष लिङदेनले देश बरबादीको दिशामा पुगेको दाबी गरे । 
IMG_7029
       दुई ठुला दल मिलेर सरकार बनाउँदा विगतमा गरेको गल्ती, कमी कमजोरी सच्याउने अवसर रहे पनि त्यतातर्फ उनीहरूको ध्यान नगएको उल्लेख गर्दै लिङदेनले सत्ता गठबन्धन दलबाट केही राम्रा परिवर्तन होलाकी भन्ने जनताको आशा अहिले आएर निराशामा परिणत भएको बताए । लिङ्देनले काँग्रेस एमालेले विगतमा गरेका भ्रष्टाचारको सजाय ढाकछोप गर्न गठबन्धन गरेको समेत आरोप लगाउँदै एनसेल प्रकरण घुस खाएर मिलाएको उल्लेख गरे । धितो पत्र बोर्डको अध्यक्ष नियुक्तिमा भागबन्डा नमिलेपछि माओवादी एमाले गठबन्धनको सरकार ढलेको दाबी गर्दै पछिल्लो समय बोर्डको अध्यक्ष नियुक्ति गर्दा पैसाको लेनदेन भएको आरोप लगाए ।
         उनले भने – काँग्रेस, एमाले, माओवादीका नेताहरूले भ्रष्टाचार गरेका छैनन् भने मन्दिर गएर कसम खाएर स्पष्ट पार्न चेतावनी दिन्छु । वाइड बडी खरिद प्रकरणमा पनि तिन वटै दलका नेताहरूले पैसा खाएर कर्मचारीलाई मात्र फसाएको लिङ्देनको आरोप छ ।
 IMG_7011
        बिरोधसभामा पार्टीका पूर्व अध्यक्ष डा. प्रकाशचन्द्र लोहनी, प्रबत्ता ज्ञानेन्द्र शाही लगायतले एमाले कांगेस नेतृत्वको सरकारका कारण मुलुक अस्तव्यस्त हुँदै गएको बताउँदै राप्रपाले त्यसबिरुद्ध देशैभर भण्डाफोर र विरोध कार्यक्रम सुरु गरेको बताए । राप्रपाको शक्ति प्रदर्शनको रूपमा लिएको यो विरोध सभा अघि अध्यक्ष लिङदेन, पूर्व अध्यक्ष लोहनी र प्रबत्ता शाहीको नेतृत्वमा इटहरी विभिन्न तीन ठाउँबाट रयाली निकालिएको थियो ।