विराटनगर । गैर कानुनी रूपमा नहरको शाखाबाट माटो निकालेर बेच्नेहरूलाई कारबाही गर्न अनुरोध गर्दा मोरङको ग्रामथान गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई अध्यक्षले स्पष्टीकरण सोधेका छन् । मोरङको ग्रामथान गाउँपालिका वडा नम्बर २ को बिर्ता जाने नहरको शाखाबाट अवैध रूपमा माटो निकालेर बेचेको भेटिएपछि प्रमुख प्रशासकीय अधिकृत राजाराम पौडेलले प्रहरीलाई रोकी दिन भन्दै पत्र पठाएका थिए ।
पौडेलले सोमबार पुस ९ गते सोमबार ग्रामथानमा रहेको झोरा हाट प्रहरी चौकीलाई पत्र लेखेका थिए । उनले प्रहरीलाई गैर कानुनी रूपमा उत्खनन रोक्ने सम्बन्धमा पठाएको पत्रमा भनिएको छ, ग्रामथान अन्तरगतका विभिन्न नहर र सडकबाट गैर कानुनी रूपमा उत्खनन भइरहेको सुचना आएको र गाउँपालिकाले अनुगमन गर्दा समेत उत्खनन भइरहेको पाइएकाले गैर कानुनी उत्खनन रोकी सवारी साधन नियन्त्रणमा लिइदिन अनुरोध छ ।
प्रमुख प्रशासकीय अधिकृतले प्रहरीलाई उत्खनन कार्य रोक्न पत्र पठाएको भन्दै ग्रामथान गाउँपालिकामा नव निर्वाचित अध्यक्ष नमोनारायण माझीले ११ गते स्पष्टीकरण सोधेका हुन् । उनले प्रमुख प्रशासकीय अधिकृत पौडेललाई सोधको स्पष्टीकरण पत्रमा भनिएको छ प्रहरीलाई के कति कारणले स्पष्टीकरण सोधिएको हो ?
माझी भरखरै सम्पन्न उप निर्वाचनमा विजयी भएका हुन् । माओवादीको तर्फबाट उम्मेदवार भएका माझीले गैर कानुनी उत्खनन रोक्ने सम्बन्धमा काटेको पत्रका बारेमा स्पष्टीकरण सोधेका हुन् । गाउँपालिकाका उपाध्यक्ष गुणावती थारु सहितले अनुगमन गर्दा शाखा नहरबाट डोजरले खनेर माटो निकाल्दै गरेको पाइएको थियो ।
थारुले भनिन्, हामी जाँदा डोजरले खनेर ट्रिपर र ट्याक्टरले माटो ओसारी रहेका थिए । हामीले भन्दा समेत नमानेपछि प्रहरीलाई रोक्न अनुरोध गर्दै प्रमुख प्रशासकीय अधिकृतले पत्र पठाउनु भएको हो। यसैलाई लिएर अध्यक्षले स्पष्टीकरण सोध्नु भएको छ ।