सुनसरी । राष्ट्रिय उच्च मावि क्रिकेट च्याम्पियनसिपको कोसी प्रदेश छनोटमा झापाको आस्था कलेज च्याम्पियन बनेको छ । इटहरीस्थित जनता क्रिकेट मैदानमा मङ्गलवार सम्पन्न प्रतियोगितामा इटहरीकै सुष्मा गोदावरी कलेजलाई सात विकेटले पराजित गर्दै दमकको आस्था कलेज च्याम्पियन बनेको हो ।  
      मङ्गलवार भएको फाइनलमा सुष्माले दिएको ६३ रनको विजयी लक्ष्य पछ्याएको आस्थाले ५ दशमलव ४ बलमा ३ विकेट गुमाउँदै पुरा गर्‍यो । आस्थाको लागि भूपाल दंगालले सर्वाधिक ३२ र सौजन घिमिरेले १४ रन बनाए ।
सुष्माका नजिर आलमले २ विकेट लिए । त्यसअघि टस जितेर पहिलो ब्याटिङ गरेको सुष्माले निर्धारित १० ओभरको खेलमा सबै विकेट गुमाउँदै ६२ रन मात्र बनाउन सक्यो । सुष्माको लागि नजिरले सर्वाधिक २० र अन्जुल मेहेताले १६ रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो रन जोड्न सकेनन् । आस्थाका सौजनले ३ विकेट लिए । उनी म्यान अफद फाइनल घोषित भए । उपाधिसँगै आस्थाले ५० हजार रुपैयाँ समेत पाएको छ । 
     दुई दिनसम्म चलेको प्रतियोगितामा कोसी प्रदेशका विभिन्न जिल्लाबाट छनौट भएर आएका ६ वटा कजेजहरुको सहभागिता रहेको थियो । प्रादेशिक विजेता आस्था कलेजले काठमाडौँमा आगामी माघ २३  गते देखी हुने राष्ट्रिय प्रतियोगितामा प्रतिस्पर्धा गर्न पाउनेछ । हाइपयेती इभेन्ट्स र ई–प्लानेट एजुकेसन कन्सल्टेन्सीको संयुक्त आयोजनामा हुन लागेको उक्त प्रतियोगितामा सात वटै प्रदेशबाट छानिएका टोलीहरू र आयोजक गरी ८ टिमले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताका खेलहरू टी–टेन फर्म्याटमा हुनेछ ।