विराटनगर । कोशी प्रदेश सरकारले स्वास्थ्य सेवाका कर्मचारीलाई सम्बोधन गर्ने गरी प्रदेश स्वास्थ्य सेवा ऐन ल्याउने अन्तिम तयारी गरेको छ । कोशी प्रदेश सरकार स्वास्थ्य मन्त्रालयले त्यसको काम थालिसकेको जनाएको छ। प्रदेश स्वास्थ्य सेवा ऐन निर्माण कोलागि प्रदेश सरकार मन्त्री परिषद्को बैठकले सैद्धान्तिक सहमति दिएपछि स्वास्थ्य मन्त्रालयले त्यस बारेमा प्राविधिक समूह मार्फत काम भइरहेको जनाएको छ । स्वास्थ्य सचिव डा राधिका थपलियाले ऐन निर्माण गर्ने बारेमा मन्त्री परिषदबाट सैद्धान्तिक सहमति आएकोले अहिले समिति बनाएर काम भइरहेको जानकारी दिइन् । प्राविधिक समूहले १५ दिन भित्र त्यस बारेमा राय सङ्कलनको लागि टोली परिचालन गरिएको उनको भनाई छ।
स्वास्थ्य मन्त्रालयको अस्पताल विकास तथा चिकित्सा महाशाखा प्रमुख सागर प्रसाईँको संयोजकत्वको टोलीले काम थालेको हो । सुझाव संकलनकोलागि परिचालित टोलीले काम थालेसँगै
पुस १७ गते एक सूचना प्रकाशित गर्दै विधेयकको सन्दर्भमा सुझाव दिन आव्हान गरिएको छ। ७ दिनको समय दिएर आव्हान गरिएको सूचनामा प्रदेश स्वास्थ्य सेवा विधेयक तर्जुमा गर्नकोलागि सो विधेयकमा समावेश गर्नुपर्ने मुख्य विषयहरू र विधेयकले समेट्नु पर्ने अन्य सान्दर्भिक पक्षका सम्बन्धमा राय सुझाव पेस गर्न भनिएको छ। सरोकारवाला संस्थाहरूको नाम नै उल्लेख गरेर सुझाव दिन भनिएको प्राविधिक समूहका संयोजक प्रसाईँले जानकारी दिए । आएको सुझावलाई निर्देशक समितिले थप छलफल गरी विधेयकको रूपमा ल्याउने भनिएको छ। प्रदेश सभाको हिउँदे अधिवेशनमा पेस गर्ने गरी विधेयकको गृहकार्य भइरहेको स्वास्थ्य मन्त्रालयका सचिव थपलियाले जानकारी दिइन् ।