विराटनगर । प्रतिनिधि सभाका लेखा समिति संयोजक ऋषीकेश पोख्रेलले स्वकीय सँग जोडेर भइरहेका प्रचार आफूसँग सम्बन्धित नभएको बताएका छन् । उनले सामाजिक सञ्जालमा स्ट्याटस लेख्दै स्वकीय अनिल पोख्रेलसँग जोडेर प्रचार नगर्न समेत आग्रह गरेका छन् ।
उनले स्वकीय पोख्रेलले एमबिबिएस परीक्षा पास गराइदिने भनेर लिएको रकम आफूसँग सम्बन्धित नभएको दाबी गरेका छन् । लेखा समिति संयोजक पोख्रेलले अनिलले स्वकीय हुनु भन्दा अगाडि नै रकम लिएको हुन सक्ने बताएका छन् । उनले लेखेका छन्,‘ कारोबार २०७१/०७२ सालमा गरेको देखिन्छ,त्यतिखेर म उसलाई राम्रो चिन्दैन थिए ।’ उनले यसरी रकम लिएको सुनेका दिन नै आफूले स्वकीयबाट अनिललाई हटाएको दाबी गरेका छन् ।
लेखा समिति संयोजक पोख्रेलका स्वकीय सचिव अनिलले एमबिबिएस परीक्षा पास गराइदिन दीक्षा चौधरीका बुबा बौआलालसँग पैसा लिएको समाचार सार्वजनिक भएकै दिन पुस १९ गते नै अनिललाई जिम्मेवारीबाट हटाएको जानकारी सहितको पत्र संसद् सचिवालयमा पठाएका थिए । उनले भनेका छन्, उनले गरेको कारोबारको बारेमा मलाई थाहा छैन । प्रमाण सत्य हो भने फरेन्सि चेक होला,यसमा मलाई किन जोडेको होला ? उनले स्वकीय राख्ने प्रचलन बुझ्न समेत सबैलाई आग्रह गरेका छन् ।
उनले आफूले मात्रै अनिललाई स्वकीय नराखेको भन्दै काठमाडौँ मोरङ सम्पर्क मञ्चले भनेपछि अनिललाई स्वकीय सचिवमा नियुक्त गरिएको बताएका छन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्, थाहा समेत नभएको विषयमा आफ्नो नाम जोडेर आएको समाचार प्रतिसोध साधिएको भएन र ? उनले कसैले कमजोरी गरेको रहेछ भने दण्डको भागेदारि हुनै पर्ने समेत बताएका छन् ।
लेखा समिति संयोजक ऋषीकेश पोख्रेलका स्वकीय सचिव अनिल पोख्रेलले दीक्षा चौधरीको नाम एमबिबिएसको प्रवेश परीक्षामा निकालिदिने भन्दै बाबु बौआलाल चौधरीबाट ३८ लाख ८० हजार रुपैयाँ लिएको समाचार बाहिर आएको छ ।