विराटनगर । एमालेबाट निष्कासनमा  परेका डा भीम रावलले अहिले मातृभूमि जागरण अभियानका नाममा राजबादीहरुसँग हिम चिम बढाएका छन् ।

उनले सुनसरी र मोरङमा भएको कार्यक्रममा राजसंस्था फर्काइनु पर्छ भन्ने अभियानमा लागेकाहरूसँग बाक्लो भेटघाट गरेका छन् । उनीहरूसँगको भेटमा ६२/ ६३ सालको आन्दोलनको म्यान्डेट र लक्ष्य गणतन्त्र र सङ्घीयता नभएको भन्दै राजबादीहरुसँग नरम देखिएका छन् । 

उनले आफूले मातृभूमि जागरण अभियान सुरु गरेकाले  सो अभियानमा राजावादी, गणतन्त्रवादी सबैको एकता रहनु पर्ने बताएका छन् । उनले उनले इटहरीमा शनिवार राती राप्रपाका नेताहरूलाई समेत भेटेका छन् । इटहरीका विष्णु  रिजालको घरमा भएको भेटघाटमा राप्रपाका पूर्व केन्द्रीय सदस्य रामु पोख्रेल र राप्रपा इटहरी उप महानगर कमिटीका उपाध्यक्ष घनश्याम गुरुङले समेत भटेका थिए । रिजाल इटहरीका व्यवसायी हुन् ।

उनी राजसंस्था फर्काइनु पर्छ भन्ने अभियानमा छन् । रावलसँग दुर्गा प्रसाईँको अभियानमा लागेकाहरूले पनि भेटघाट गरेका छन् । इटहरीमा राप्रपाका स्थानीय नेताहरूसँग भएको भएको भेटघाटमा रावलले ६२र६३ को आन्दोलनको एजेन्डा गणतन्त्र नभएको बताए । उनले बाहिरकाले गणतन्त्रको एजेन्डा प्रवेश गराएको भन्दै राजसंस्था प्रति विश्वास रहेको बताए ।

उनले भने, २०६२/६३ मा गणतन्त्र ल्याउने भन्ने थिएन, यो म तपाईंहरुलाई जानकारी गराउँछु, धर्मनिरपेक्षता पनि थिएन, सङ्घीयता पनि थिएन ।’ हामीले सङ्गठन गर्ने अभिव्यक्ति दिने सङ्गठन बनाउने यो राजतन्त्र बाटै हुन्छ भनेर आन्दोलन सुरु गर्‍यौ । जब आन्दोलन उत्कर्षमा पुग्यो घुसाउनेहरूले धर्म निरपेक्ष र सङ्घीयता घुसाए ।
Bhim 2

उनले कोशी नदी उर्लेर आएपछि कहिले नछेके जस्तै आन्दोलनले राजतन्त्र जोगाउन नसकेको बताए । उनले अहिले आफू कानुन राजनीति शास्त्रको विद्यार्थी भएको भन्दै जनताले निर्वाचन मार्फत संविधान संशोधन गरेर राजतन्त्र फर्काउन सक्ने बाटो रहेको बताए । उनले त्यो बाटोबाट मात्रै छिटो परिवर्तन हुन सक्ने नदेखेको भन्दै राजवादीहरूलाई आन्दोलनका लागि समेत उक्साए ।  उनले भने, निर्वाचनको माध्यमबाट मात्रै सबै कुरा हुन्छ जस्तो लाग्दैन । 

जनतालाई पनि परिचालित गर्नु पर्छ ।  २०४७ सालमा संवैधानिक राजतन्त्र भयो, एमालेले पनि मानेको हो, त्यही अन्तरगत म पहिलोचोटी मनमोहनजीको पालामा मन्त्री भएको हो, राजाकै अगाडि उभिएर शपथ लिएको हो । उनले इटहरीमा भएको कार्यक्रममा भने, जनताले अहिले सङ्गठित भएर आवाज नउठाउने हो भने परिवर्तन सम्भव छैन ।

राजबादीसँगको निकटता रोक्ने प्रयासमा समाजवादी 
BHim

कोशी प्रदेशको दौडाहामा निस्किएका भीम रावलसँग एकीकृत समाजवादीका केन्द्रीय  सचिव राजेन्द्र राईले भेटेका छन् । भोजपुरमा रहेका कोशी प्रदेशका पूर्व मुख्यमन्त्री समेत रहेका राई रावल विराटनगर आएपछि उनैलाई भेट्नका लागि धरान आएका हुन् । एमालेबाट कारबाईमा परेका रावल र राईका बिचमा धरानमा भेटघाट भएको हो ।

भेटघाटका क्रममा रावलले आफ्नो अभियानको बारेमा बताएका थिए । उनले मातृभूमि जागरण अभियान सुरु गरेकाले साथीहरूसँगको सल्लाह लिँदै हिँडेको बताए । 
रावल कोशी प्रदेशमा आउँदा विभिन्न भेटघाटको चाँजोपाँजो भने एकीकृत समाजवादीका केन्द्रीय सदस्य वसिम आलामले मिलाएका हुन् । उनी राजेन्द्र राई मुख्यमन्त्री हुँदा जन सम्पर्क सल्लाहकारको रूपमा काम गरेका थिए ।
आलाम हिजो विराटनगर विमानस्थलमै भेट्न पुगेका थिए । विराटनगर विमानस्थलमा रावललाई राजावादीहरूले समेत स्वागत गरेका थिए ।
रावल विमानस्थलमा ओर्लँदा राजावादीहरूले जय देश जय नरेशको नारा समेत लगाएका थिए । रावललाई राजसंस्था फर्काउनु पर्छ भन्ने अभियानमा लागेका सतिश पोख्रेलले आफ्नो गाडीमा चढाएर वराहक्षेत्र लान खोजेका थिए । सेतो कलरको प्राडो गाडी लिएर विमानस्थल पुगेका पोख्रेलको गाडीमा रावल चढ्न ठिक्क परेपछि एकीकृत समाजवादीका  नेता आलामले रावललाई गाडीमा चढ्नबाट रोकेका थिए ।
पोख्रेलले रावलको झोला समेत बोकेर गाडीमा हालेको अवस्थामा आलामकै कारण रावल अर्कै गाडीमा चढेको विमानस्थल श्रोतले जनाएको छ । 

रावलसँग अहिले पूर्व एमालेका कार्यकर्ता झापाका डम्बर गिरी समेत हिँडिरहेका छन् । उनले रावललाई झापा लैजाने योजना बनाए पनि रावल झापा भने गएनन् । गिरी २०७४को निर्वाचनमा एमालेका तर्फबाट हल्दिवारी गाउँपालिकाको उपाध्यक्षमा निर्वाचित भएका थिए । ७९को निर्वाचनमा एमालेका तर्फबाट टिकट नपाएपछि बागी उठेका थिए ।

त्यसपछि राष्ट्रिय स्वतन्त्र पार्टीमा लागेको गिरी अहिले भने भीम रावलको अभियानमा हिँडिरहेका छन्  छन् । रावलले धरानका पूर्व मेयर मनोज मेन्याङ्वोलाई समेत भेट्न खोजेका थिए ।

तर मेन्याङ्वोले रावललाई भेट्न मानेनन् । मेन्याङ्वोले  भने, मैले कसैलाई भेटिन । भेट्न जरुरी पनि ठानिन । ७९ को निर्वाचनमा पाटीले धरानको मेयरको टिकट नदिएपछि उनी बागी उठेका थिए । त्यस यता उनी कुनै पनि पार्टीमा आबद्ध नभई बसेका छन् ।