विराटनगर । पारिश्रमिक निर्धारण समितिले श्रमजीवी पत्रकारको पक्षमा काम गर्न नसकेकाे भन्दै पत्रकारहरूले आलाेचना गरेका छन् । पारिश्रमिक निर्धारण समितिले विराटनगरमा आयाेजना गरेकाे श्रमजीवी पत्रकार ऐन कार्यान्वयनकाे अवस्था, चुनाैती र भावी रणनीतिका बारेमा भएको प्रदेश स्तरीय कार्यक्रममा सहभागी पत्रकारहरूले समितिलाई प्रभावकारी काम गर्न आग्रह गरे । पारिश्रमिक निर्धारण समितिले कार्यक्रम मात्रै गर्ने तर श्रमजीवी पत्रकार ऐन कार्यान्वयन गर्ने बारेमा भुमिका कमजोर रहेकाे उल्लेख गरे ।
पत्रकार देवनाराण साहले समितिको भुमिका माथि प्रश्न उठाउँदै अध्यक्ष बन्न दाैडधुप गरेजस्तै काममा पनि उस्तै भुमिका देखाउन आग्रह गरे । पत्रकारहरू विनाेद सुवेदी, महाप्रसाद खतिवडा र तारा आचार्य लगायतले पारिश्रमिक निर्धारण समितिले आफ्नो भुमिकालाई प्रभावकारी बनाउन आग्रह गरे । पत्रकार महासंघका सल्लाहकारहरू लिलाबल्लभ घिमिरे र विवेक गाैतमले कार्यक्रम सँगै पारिश्रमिक निर्धारण समितिले पत्रकारले पाउने पारिश्रमिककाे विषयमा पनि अनुगमन गरेर सरकारलाई कार्यान्वयनमा सुझाव दिन आग्रह गरे ।
पारिश्रमिक निर्धारण समितिका अध्यक्ष संगिता खड्काले अनुगमन गर्ने अधिकार भएपनि कार्वाहीकाे अधिकार नभएको बताइन् । अहिले पनि न्युनतम पारिश्रमिक पाउन निरन्तर संघर्ष जस्तै रहेकाे उल्लेख गरिन् । `समितिलाई कार्वाही गर्ने अधिकार दिईएकाे छैन, उनले भनिन्, अनुगमन गर्ने तर उजुरीको सुनुवाइ गर्न सकिएकाे छैन, हरेक २ बर्षमा विज्ञले सुझाव दिँदै आएको भएपनि त्याे कार्यान्वयनमा जान सकेको छैन ।´ सहभागी पत्रकारहरूले मिडियाले पत्रकारलाई सामाजिक सुरक्षामा लग्ने वातावरण बनाउन आग्रह गरेका छन् । कार्यक्रममा माेरङ, झापा, सुनसरी, धनकुटा र उदयपुरका पत्रकार सहभागी थिए ।