सुनसरी । विराटनगरको कोसी क्याम्पसले इटहरीमा जारी प्रदेशस्तरीय दोस्रो अन्तर कलेज टी–२० क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ । इटहरी आदर्श जायन्ट्सको आयोजनामा सोमबार देखी सुरु प्रतियोगिताको उद्घाटन खेलमा दमकको आस्था कलेजमाथि २६ रनको जीत निकाल्दै कोसीले विजयी सुरुवात गरेको हो । 
       इटहरी ९ स्थित जनता क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको कोसीले खराब मौसमका कारण १६ ओभरमा छोट्टाइएको खेलमा ८ विकेट गुमाउँदै १ सय ३५ रनको योगफल जोडेको थियो । कोशीका लागि सुभम बरालले सर्वाधिक ३५ रन बनाउँदा गोपाल मण्डलले २७ र जेम्स विकले १७ रन बनाए । आस्थाका सौजन घिमिरेले ३ तथा संगम बुढाथोकीले दुई विकेट लिए । आस्थाले सुरुवाती दोस्रो ओभरसम्म खराब बलिङ गरेपछि कोसीले दुई ओभरमै ४४ रन जोडेको थियो ।
   १ सय ३६ रनको विजयी लक्ष्य पछ्याएर जवाफी ब्याटिङ गरेको आस्थाले निर्धारित ओभरमा ८ विकेटको क्षतिमा १ सय ९ रन मात्र जोड्न सक्यो । आस्थाका लागि संगम बुढाथोकीले ३० रन बनाउँदा हिमांशु गिरीले १८ र सौजन घिमिरेले १५ रन जोडे । खेलको म्यान अफ द म्याच कोशीका गोपाल मण्डल घोषित भए । उनले ३ विकेट समेत लिएका थिए ।
        सोमबार नै सम्पन्न दोस्रो खेलमा इटहरी नमुना कलेजले कोसी सेन्ट जेम्स कलेजमाथि ८१ रनको फराकिलो जीत निकालेको छ । नमुनाले दिएको १ सय ५३ रनको विजयी लक्ष्य पछ्याएको कोसी सेन्ट जेम्स ७२ रनमा अलआउट भयो । नमुनाका पभात राईले ३९ बलमा ५६ रन जोडे । कोसी सेन्ट जेम्सका एमडी आरिफले ५ विकेट लिए । नमुनालाई जिताउन ५ विकेट लिएका प्रकाश कार्की म्यान अफद म्याच घोषित भए ।
       पुस २६ गतेसम्म चल्ने प्रतियोगितामा कोसी प्रदेशका झापा, मोरङ र सुनसरीका विभिन्न १० कलेजका टोलीहरूको सहभागिता रहेको छ । प्रतियोगिता सुनसरी जिल्ला क्रिकेट संघको प्राविधिक सहयोग र क्लाउड एजुकेसन एन्ड भिसा सर्भिसको सहयोगमा सञ्चालन भएको हो ।