विराटनगर । विराटनगर महानगरपालिकाले उच्च प्राथमिकतामा राखेको महानगर अटिजम सेवा केन्द्र सञ्चालनका लागि दुई पक्षीय सम्झौता भएको छ । 

अटिजम सेवा केन्द्र सञ्चालनका लागि साझेदार संस्थाका रूपमा छनौट भएको करुणा फाउन्डेसन नेपाल र विराटनगर महानगर पालिकाबिच सोमबार सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।   

सेवा केन्द्रमा आयोजित कार्यक्रममा महानगरका मेयर नागेश कोइराला, प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुली, फाउन्डेसनका तर्फबाट कार्यकारी निर्देशक दीपकराज सापकोटा र कोसी प्रदेश प्रमुख योगेन्द्र गिरीले सम्झौता पत्रमा हस्ताक्षर गरे ।  सम्झौताअनुसार फाउन्डेसनले अटिजम सञ्चालनमा प्राविधिक सहयोग गर्नेछ । जसअन्तर्गत सेवा केन्द्रमा कार्यरत जनशक्तिलाई तालिम दिने, अटिजम भएका बालबालिकाको प्रोफाइल तयार गर्ने, फिजियोथेरापी, स्पीच थेरापी (बोल्न सिकाउने), बालबालिका र अभिभावकलाई मनोचिकित्सक सेवा प्रदान लगायतका प्राविधिक क्रियाकलापमा सहयोग गर्ने सम्झौतामा उल्लेख छ । 

अटिजम सेवा केन्द्रको आफ्नै भौतिक संरचना निर्माणका लागि स्रोत जुटाउन समन्वय र सहयोग गरी सम्झौता भएको महानगरको स्वास्थ्य महाशाखा संयोजक डा. दिलीपकुमार यादवले जानकारी दिए । सेवा केन्द्रको भवन निर्माण गर्न महानगरले जग्गा उपलब्ध गराउने छ । सो जग्गामा भवन निर्माण गर्न करुणा फाउन्डेसनले सहजीकरण गर्नेछ । 

मेयर कोइरालाले अटिजम सेवा केन्द्र आफ्नो ड्रिम प्रोजेक्ट भएकाले यसलाई अझै व्यवस्थित र प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरे ।  अटिजम सेवा केन्द्र सञ्चालनका लागि महानगरले चालु आर्थिक वर्षको बजेटमा १ करोड रुपैयाँ विनियोजन गरेको छ । विनियोजित रकममध्येबाटै ३० लाख रुपैयाँको लागतमा गत कात्तिकदेखि महानगर अटिजम सेवा केन्द्र सञ्चालनमा ल्याइएको छ ।  हाल केन्द्रमा ३ बालिकासहित २० जनाले सेवा लिइरहेका छन् । महानगरको तथ्यांक अनुसार विराटनगर क्षेत्रभित्र ५१ जना अटिजम भएका बालबालिका छन् ।

 केन्द्रमा भर्ना भएका बालबालिकाको उपचारसहित अध्ययनसमेत गराइनेछ । उनीहरूलाई उपचारपछि अन्य विद्यालयमा भर्ना गरिने महानगरले जनाएको छ।  हाल फिजियोथेरापी, स्पीच थेरापी, फिजिसियन सेवा, खाजा, गाडीलगायत सम्पूर्ण सेवा निःशुल्क उपलब्ध गराइरहेको प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुलीले बताए ।